कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिनु भयो ।

पीडितका अनुसार आफू आरोपित ४२ बर्षीय छोरा सदान्न दाससँग बस्दै गर्दा आरोपितले हेरचाह तथा पालन पोषण गर्छु भनि ललाइ फकाइ बृद्व भत्ता लिने गरेको बताउनु भयो । तर, समयमा खाना नदिने, विरामी पर्दा औषधि उपचार खर्च नदिने र पटक पटक पैसा माग्दै कुटपिट गर्ने गरेको पीडितको आरोप रहेको छ । आरोपितको कुटिपिट र यातना सहन नसकेर उनीसँग बस्न छाडी जेठो छोरा ४५ बर्र्षीय रामान्न दाससँग बस्न थालेपछि आरोपितले मङ्सिर १६ गते जग्गाको निहुँमा बादविवाद गरी गालीगलौज तथा कुटपिट गर्नुका साथै सुत्ने घर समेत भत्काइ दिएको पीडितले बताउनु भयो । अब म कहाँ सुत्ने होला भनि पीडितले दुखेसो समेत पोख्नु भयो ।

घटना बारे सत्य तथ्य बुझी दोषीलाई कानुन बमोजिम कारबाही गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्सपेक्टर बिमला कुमारी कठायतले जानकारी दिनु भयो ।


धिरेन्द्र प्रसाद बरै