कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०८० साउन ३२ गते

मन्थली नगरपालिका-१२, गेलुकी ३१ वर्षीया मन्दिरा अधिकारीलाई कुटपिट गरी घाइते बनाएको आरोपमा आफ्नै देवर ३० वर्षीय सन्तोषकुमार अधिकारीविरूद्ध ०८० साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले साउन ३१ गते घरायसी विवाद हुँदा विभिन्न आरोप लगाउँदै कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

घरायसी विषयमा विवाद भइरहेको बेला पीडित महिलालाई आरोपितले ढुङ्गाले हान्दा गाला र शरीरका विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिलीप थापाले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य उपचार साउन ३१ गते मन्थली अस्पतालमा भयो । घटनाका दुवै पक्षलाई राखेर छलफल गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउने इन्स्पेक्टर थापाले बताउनु भयो ।


नवराज घिमिरे