कुटपिट गरेको आरोपमा शिक्षकसहित दुई जना गिरफ्तार

  ०७९ साउन २६ गते

जनज्योती मावि कक्षा १२ मा अध्ययनरत विद्यार्थी राजपुर गाउँपालिका–३ का १९ वर्षीय मन्साराम यादवलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले उक्त विद्यालयका शिक्षक राजपुर गाउँपालिका–२ का ३७ वर्षीय पाटेश्वर यादव र उनका दाजु ४६ वर्षीय धिरबहादुर यादवलाई साउन २५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले साउन २० गते बोलाएर धिरबहादुरको घरमा बन्धक बनाई कुटपिट गरेको भन्दै पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए ।

पीडितलाई आरोपितले आफ्नो छोरीसँग प्रेम सम्बन्धमा रहेको आरोप लगाएर शिक्षक पाटेश्वरले योजनावद्धरुपले छोरीलाई बोलाउन लगाएर बन्धक बनाइ चिरपट, इँटाले कुटपिट गरेको पीडितले बताउनु भयो । घरमा चोरी गर्न आएको, घरधनीले थाहा पाएर सामान्य कुटपिट गरेको, प्रहरीमा उजुरी गर्ने छैन भन्ने कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको पीडितले बताउनु भयो ।

कुटपिटबाट टाउको, मुख, कान, हात, खुट्टा र ढाडमा चोट लागेर गम्भीर घाइते भएका पीडितको  नेपालगञ्जस्थित वेष्टर्न हस्पीटलमा उपचार भइरहेको प्रहरीले पीडित पक्षले बताए ।

चोरी गरेकाले सामान्य कुटपिट गरी बाँधेर राखेको भन्दै शिक्षक यादवले राजपुर–३ का वडाध्यक्ष रामप्रसाद यादवलाई खबर गरेपछि प्रहरीले पीडितको उद्धार गरेको थियो ।

घटनामा सङ्लग्न राजपुर गाउँपालिका–२ का २२ वर्षीय रामकिसुन यादव, २३ वर्षीय सुरज यादव र २३ वर्षीय रामप्रसाद यादव फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेश काफ्लेले जानकारी दिनु भयो ।


जयनारायण पुन