कुटपिट गरी पत्नीलाई घर निकाला

मुगु जिल्ला छाँयानाथ रारा नपा–६ कोटिलाकी २४ वर्षीया सुन्तली भाम कठायतलाई २८ वर्षीय पति गगन भामले कुटपिट गरी घर निकाला गरेका छन् ।

उनले फागुन १० गते मदिरा सेवन गरेर पत्नीलाई कुटपिट गरी घर निकाला गरेका हुन् । पीडित सुन्तलीका अनुसार पतिले विगत एक वर्षदेखि विभिन्न बाहनामा कुटपिट गरी दुःख दिएपछि जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ रियागाउँस्थित माइतीघरमा बस्दै आएकी छन् ।

उनले भनिन्–‘पतिले धेरै कुटपिट गर्दा भागेर माइती घरमा आउन खोज्दा बीच बाटोमा रोकेर सबै कपाल काटेर खोलामा बगाइदिनुभयो ।’

आफ्नो ज्यान जोगाउनका लागि बच्चालाई पतिको घरमा छाडेर माइतीघरमा आएको उनको भनाई छ ।

पतिलाई कारबाहीको माग गर्दै फागुन १३ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको पीडितले बताइन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी सिताराम रिजालका अनुसार पीडित महिलाको उजुरी आएपछि फागुन १३ गते आरोपित गगनलाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय, जुम्लामा उपस्थिति गराइदिन मुगु जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरिएको छ ।


मानदत्त रावल