कुटपिट गरी घाइते बनाएको आरोपमा ससुरा र देवरविरुद्ध उजुरी

सिम्राहा सिग्यौन गाविस-२ की २९ वर्षीया शोभिला यादवलाई उनका ६० वर्षीय ससुरा रामप्रित यादव र पीडित महिलाका २५ वर्षीय देवर श्रवणकुमार यादवले बाँसको कप्टेराले कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते प्रहरीमा उजुरी दिएको छ ।

पीडितका भाइ राजविराज नपा-९ का नरेशकुमार यादवले पीडितका तर्फबाट आरोपितहरूविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

पीडित महिलालाई आरोपितद्वयले मङ्सिर २२ गते कुटपिट गरेका कारण टाउकोमा चार ओटा टाँका लगाउनुपरेको छ भने देब्रे हातको दुई ओटा औँला भाँचिएको छ । पीडित महिलाको उपचार राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको छ ।

पीडित महिलाका पति सन्तोषकुमार यादव वैदेशिक रोजगारीका लागि मलेशियामा रहेकाले आरोपितहरूले घरायसी विवादमा पटक-पटक कुटपिटका साथै मानसिक यातना दिने गरेको पीडितले दुखेसो व्यक्त गरिन् ।

आरोपित तमलोपाका जिल्ला अध्यक्ष रामप्रित यादवले आफूले घर हिँड भनेर बुहारीको पिठ्यूँमा एक झापड हिर्काएको र कान्छा छोरा श्रवणले बाँसले हिर्काएर टाउको फुटाएकोमा गल्ती भएको स्वीकारेका छन् ।


मनोहरकुमार पोखरेल