कुटपिटमा संलग्न प्रहरीलाई कारबाही गर्न पीडित पक्षको माग

जुनीचाँदे गाउँपालिका-४ का ३८ वर्षीय जयलाल खड्का र उनकी ३७ वर्षीया पत्नी लाला खड्काले कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको माग गरेका छन् ।

Photo20170621Jajarkot

जग्गासम्बन्धी विवाद मिलाउन इलाका प्रहरी कार्यालय गर्खाकोटबाट असार २ गते खटिएका प्रहरी हवल्दार धनबहादुर वलीले जयलाल र लालालाई कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

घटनाका सम्बन्धमा असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन पुगेपनि प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षले गुनासो गरे ।

प्रहरीले उजुरी दर्ता नगरेपछि घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै पीडित पक्ष असार ६ गते महिला तथा बालबालिका कार्यालय, अधिकारकर्मी र सञ्चारकर्मीसमक्ष पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा घटनाको निवेदन आएको डिएसपी भावेश रिमालले बताए । घटनामा संलग्न प्रहरीलाई अनुसन्धानका लागि जिल्लामा बोलाइएको डिएसपी रिमालले जानकारी दिएका छन् । प्रहरीले निवेदन दर्ता नगरको विषयमा बुझेर दर्ता गर्न पहल गर्ने प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले बताए ।

जाजरकोटस्थित इन्सेक जिल्ला प्रतिनिधिले घटनाको निवेदन दर्ता गरी छानबिन गरिदिन जिल्ला प्रहरी कार्यालयका डिएसपी, प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरेका छन् । महिलालाई कुटपिट गरिएकोले महिला तथा बालबालिका कार्यालयमा समेत निवेदन दिन इन्सेक जिल्ला प्रतिनिधिले सुझाव दिए अनुसार पीडितले महिला तथा बालबालिका कार्यालयमा निवेदन दिएका थिए ।

जग्गासम्बन्धी विवादमा स्थानीय सूर्यबहादुर शाहीले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरी हवल्दार वलीले मदिरा सेवन गरेर कुटपिट गरेको पीडित पक्षको आरोप छ ।

पीडित जयलालका अनुसार साथमा तीन जना म्यादी प्रहरीसहित पुगेका हवल्दारले चौकीमा जान नमानेको आरोपमा बाँसको लठ्ठीले पछाडीबाट हिर्काएको पीडितले बताए ।

धेरै पटक कुटपिट गर्न थालेपछि बाध्य भएर आफू प्रहरी कार्यालय जान्छु भनेपछि प्रहरीले कुटन छोडेको जयलाल खड्काले बताए । आफूलाई प्रहरीले कुटपिट गरी प्रहरी चौकी लैजान लागेपछि पत्नी लाला खड्काले विरोध गर्न खोज्दा हवल्दार वलीले लालालाई पनि अमानवीय तरीकाले गाली गलौज गर्दै कुटेको जयलालले आरोप लगाए ।

जग्गा सम्बन्धी छिमेकीसँगको विवादलाई मिलाउन जग्गा धनीपुर्जा र नापी कार्यालयमा रहेको नापी नक्साका आधारमा छलफल चलाउनुको साटो मदिरा सेवन गरेर पति पत्नीलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई कारबाही हुनुपर्ने पीडित लाला खड्काले माग गरेकी छन् ।


दिनेशकुमार श्रेष्ठ