कुटपिटबाट ६० वर्षीया महिलाको मृत्यु

  ०७९ असार ३२ गते

डाक्नेश्वरी नगरपालिका–८ प्रवाहापट्टी टोलकी ६० वर्षीया जीरादेवी मण्डलमाथि भएको कुटपिटका कारण असार ३० गते राति उहाँको मृत्यु भएको छ ।

सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले गरेको कुटपिटबाट जीरादेवीको मृत्यु भएको मृतकका छोरा मनोजले आरोप लगाउनु भएको छ ।

खेतबालीका लागि मल लिएर घरतर्फ आइरहेका २६ वर्षीय मनोज सवार साइकलले एक बालकलाई दिएको ठक्करले उत्पन्न विवादको क्रममा राजेश र गणेशसहितका व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउ गर्न जीरादेवी आउनु भएको थियो ।

उनीहरुकै कुटपिटबाट जीरादेवीको मृत्यु भएको भनी प्रहरीमा खबर गरेलगत्तै आरोपितहरू फरार रहेको मृतककी बुहारी अमरीदेवी मण्डलले बताउनु भयो ।

शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार ३१ गते गरिएको छ ।

महिलाको मृत्युको खबरलगत्तै आरोपितहरू फरार भएको र उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधवप्रसाद काफ्लेले बताउनु भयो ।


मनोहरकुमार पोखरेल