किसानलाई समयमै बिउ बिजन र मल उपलब्ध गराउन माग

  ०७८ जेठ १४ गते

इन्सेक लुम्बिनी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ बाँके शाखाले किसानलाई समयमै बिउँ बिजन र मल सममै उपब्लध गराउन माग गर्दै जेठ १४ गते लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग माग गरेको छ ।

लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवलाई सात बुँदे ज्ञापन पत्र बुझाउदै इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत र नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारीले लुम्बिनी प्रदेशका अधिकांश नागरिकहरू कृषि पेशामा निर्भर रहेको र विश्व नै कोभिडबाट आक्रान्त भएको अवस्थामा नागरिकहरू बेरोजगार भइ बस्नु परेकोले बेरोजगार र कृषि क्षेत्रमा लागेका युवाहरू लाई प्रोत्साहित बनाउन योजना बनाउनु पर्ने माग गरेका छन् ।

यसैगरी, युवाहरू नेपालमा कृषि क्रान्ति ल्याउने सपना देखिरहेको अवस्थामा राज्यले किसानहरूका लागि नीति नियमहरु बनाएपनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा किसानहरु पीडित हुनु परेकोले कृषि पेशामा सङ्लग्न किसानहरूको लगानी र प्रतिफल सुरक्षित नहुँदा पलायन हुने अवस्था  आएको  ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा प्रत्येक वर्ष किसानहरूले झेल्दै आइरहेको मल बिउँको समस्यालाई समाधान गर्न प्रदेश सरकारद्वारा किसानहरूले सर्वसुलभ रुपमा समयमै मल बिउँ  पाउने गरी व्यवस्था मिलाउनु पर्नेभारतबाट अवैध रुपमा आयात हुने कृषि उत्पादनले गर्दा स्वदेशी उत्पादनले बजार नपाइरहेको अवस्था रहेकोले त्यसमा नियन्त्रण गर्नु पर्ने, उत्पादन र बिउँ बिजन भण्डारणका लागि उपयुक्त स्थानमा कोल्ड स्टोरको व्यवस्थापन गरी कार्यान्वयनमा ल्याइनु पर्ने, सम्पूर्ण कृषकहरूको हित र पहुँचमा आधारित कृषि अनुदानको व्यवस्थापन गर्नुपर्ने, कृषि एम्बुलेन्सलाई प्रभावकारी बनाइनु पर्ने, विभिन्न रोग र दैविप्रकोपका कारण कृषिमा हुने क्षतिको क्षतिपूर्तीको लागि सबै किसानहरूलाई कृषि बिमाको परिधिभित्र ल्याउनु पर्ने माग गरिएको छ ।

कोभिड महामारी नियन्त्रण र रोकथामका लागि गरिएको निषेध आदेशको समयमा पनि  कृषि उत्पादनको सहज ढुवानीका लागि सप्लायर्स तथा किसानहरूलाई पासको व्यवस्था गरिनु पर्ने  ज्ञापान पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादवले बिउँ र मलखादमा कृषकहरूको सहज पहुँच पुर्‍याउने बताउदै अन्य समस्याहरूको समेत पहिचान गरेर समाधान गरिने बताउनु भयो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज