किट अभावमा १५ दिनदेखि डेङ्गु रोग परीक्षण रोकियो

  ०७९ भदौ २९ गते

मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा डेङ्गु रोग परीक्षण गर्ने किट अभावमा परीक्षण रोकिएको छ ।

डेङ्गु परीक्षणको लागि आवश्यक किट अभावमा १५ दिनदेखि परीक्षण रोकिएको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनु भयो ।

‘जिल्ला अस्पतालमा दैनिक १०–१२ जना डेङ्गुसँग मिल्दो लक्षण देखिएका बिरामीहरू परीक्षणको लागि आउने गर्नु भएको छ ।’–सुवेदीले भन्नु भयो–‘किट अभावमा परीक्षणको लागि अन्य स्वास्थ्य संस्थामा सेवाग्राही जानुपर्ने बाध्यता रहेको छ ।’

अस्पतालमा परीक्षण गरिएकामध्ये साउन महिनामा सात जनामा र भदौमा दुई जना डेङ्गु पुष्टि भएको थियो ।

पछिल्लो १५ दिनमा अस्पतालमा डेङ्गुको कुनैपनि परीक्षण भएको छैन । सरकारी स्वास्थ्य संस्थामा डेङ्गुको निःशुल्क परीक्षण गर्ने व्यवस्था छ ।

डेङ्गु परीक्षण किटको लागि आवश्यक बजेट जिल्ला अस्पतालमा नहुँदा किट खरिद गर्न नसकिएको उहाँले बताउनु भयो । किट व्यवस्थापनको लागि गण्डकी प्रदेश सरकारलाई अनुरोध गरिएको सुवेदीले बताउनु भयो ।


तिर्थराज डुम्रे