कास्कीमा पहिरोबाट एकै परिवारका ६ जना सहित ११ जनाको मृत्यु

  ०८० असार २८ गते

दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण कास्कीमा ११ जनाले ज्यान गुमाएका छन् ।

पोखरा महानगरपालिका– १९ पुरुनचौर तल्लाकोटका  कुलबहादुर परियारका ६ जना परिवारसहित आफन्त एक जनाको ज्यान गएको छ । ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुरिँदा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।

असार २७ गते राती १० बजेको समयमा तीन कोठे घरमा पहिरो जाँदा ४६ वर्षीय कुलबहादुर परियार, उहाँकी पत्नी ४३ वर्षीया मनकुमारी परियार, उहाँकी सासु ८५ वर्षीया लक्षीमा परियार, कान्छी छोरी १५ वर्षीया प्रशना परियारको मृत्यु भएको हो ।

विवाहपछि माइत आएकी कुल बहादुरकी माइली छोरी २० वर्षीया प्रभा परियार र ज्वाइँ २५ वर्षीय अस्मित परियारको पनि मृत्यु भएको छ । कुलबहादुरका १७ वर्षीय छोरा पवन परियार भने घाइते हुनुभएको छ । उहाँको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि डिस्चार्ज भएको छ । कुलबहादुरकै घर तल आफन्त ५६ वर्षीया राधिका परियारको भने हताहतिमा परेर मृत्यु भएको स्थानीयहरुले बताएका छन् । उहाँका छोरा ३१ वर्षीय कुमार परियार  घाइते हुनुभएको छ । उहाँको बायाँ हातमा चोट लागेको थियो ।

यस्तै, २८ गते बिहान २ बजेको समयमा पोखरा महानगरपालिका– ३२ चैनपुर स्थित बाह्रबिसेका ४० वर्षीया आरती ओझाको घरमा पहिरो आएको थियो । टिनले छाएको एक तले कच्ची घरमा माथिबाट पहिरो आएपछि आरतीका छोरी द्वय १८ वर्षीया अनिता ओझा र ११ वर्षीया अनुस्का ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्त कुँवर शर्माले जानकारी दिनुभयो ।  प्रहरीका अनुसार दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदीको पनि मृत्यु भएको हो । उक्त घटनामा आरती भने घाइते हुनुभएको छ । उहाँको पोखरा स्थिति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

२८ गतेनै बिहान कास्कीको मादी गाउँपालिका– ११ तल्लो ताप्लेस्थितमा ८० वर्षीया माइतिकुमारी गुरुङको एक तले कच्ची घरमाथि पहिरो आएर पुरिँदा उहाँको मृत्यु भएको हो । उहाँको ५५ वर्षीय छोरा ओमबहादुर गुरुङको भने सकुसल उद्धार गरिएको छ ।

449841452_1006425891105978_1466170106848114013_n photo1081328kaski

photo2081328kaski

photo3081328kaski


सन्जय रानाभाट