कास्कीमा खोप केन्दको अनुगमन : स्वास्थ्य मापदण्डको पालना छैन !

  ०७८ साउन १४ गते

पोखरा महानगरपालिका–८ बस्ने ५८ वर्षीया नरदेवी थकाली चर्को घाममा खोपको प्रतिक्षामा रहेकी थिइन् ।

उमेर समूहका हिसाबमा यसअघि नै खोप लगाइसक्नुपर्ने भएपनि बेखबर रहेकै कारण अघिल्लो चरणमा छुटेपछि साउन १४ गते खोप केन्द्र पुगेकी उहाँ अलमल पर्दै यताउता गर्दै हुनुहुन्थ्यो ।

‘अघिल्लो पटक पालो रहेछ, खबर नै भएन वडाका कसैले पनि भनेनन्, आज चाहि छिमेकीले थाहा दिएर आएको कता हो कता भए ।’, इन्सेक गण्डकी प्रदेश कार्यालयबाट अनुगमनका क्रममा खोप केन्द्र पुग्दा उहाँले सुनाउनुभयो ।

photo20210729Kaski1

वैदेशिक रोजगारीका लागि कतार जान लाग्नुभएकी पोखरा महानगरपालिका–५ बस्ने २४ वर्षीया विभा दमाईले आफूलाई खोप लगाउन नपाउने भनेर फकाईएको भन्दै अनुगमन टोली समक्ष भिसा सहितको पासपोर्ट देखाउँदै हुनुहुन्थ्यो ।

‘कसैलाई यही पासपोर्ट देखाएर खोप पाइने, मलाई भने भित्र जाँदा मिल्दैन भनेर फर्काइदिए यहाँ खोप लगाउन के देखाउनुपर्ने रहेछ, कुन्नी ?’, –उहाँले गुनासो सुनाउनुभयो ।

खोप केन्द्र भित्रै रहेका वडा नं ८ अध्यक्ष रूद्र बराललाई उक्त कुराको जानकारी पछि उहाँले खोपको व्यवस्थापन गरिदिनुभयो । सामान्य नागरिकले सहज रूपमा खोपको उपयोग गर्न नपाएका यी उदाहरण मात्रै हुन् ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई बिना अवरोध खोपको प्राथमिकता राख्ने भनेपनि खोप केन्द्रमा सहज रूपमा खोप लगाउन पाउने व्यवस्थापन कमजोर देखिन्छ ।

photo20210729Kaski2

साथै खोप लगाउन लाइनमा रहेकाहरूमा जनस्वास्थ्यको मापदण्ड कार्यान्वयन गराउन न सुरक्षाकर्मी नै अग्रसर देखिए, न त जनप्रतिनिधि नै ।

पोखरा महानगरपालिकाको वडा नं ८ स्थित शहरी स्वास्थ्य केन्द्रमा साउन १४ गते ७ सय ५० डोज खोप आइपुगेको थियो । पुग्ने खोप हुँदाहुँदैपनि नागरिकहरू चर्को घाममा धकेलाधकेल गर्दै लाइनमा बसिरहेका थिए ।

‘लाइनमा नबसी पाइदैन, व्यवस्थापन गर्नै सकिदैन भिड त यस्तै हो,  आजलाई पुग्ने खोप छ आएका जतिलाई लगाइदिने हो ।’, –वडाध्यक्ष वरालले भन्नुभयो ।

नागरिकले नै स्वास्थ्य मापदण्ड प्रति गम्भीर नभएको उहाँको भनाइ छ ।

photo20210729Kaski3

‘लाइनमा मिलरे बस्नुहोस । खोप छ भन्दा पनि पहिला पालो चाहियो भन्दै धकेला धकेल हुन्छ, हामीले मात्रै गरेर कहाँ सकिन्छ र ?’–उहाँले भन्नुभयो ।

खोप केन्द्रमा परिचालित मेडिकल अफिसर अन्जली भण्डारीले खोप लगाउने स्थान भन्दा पनि लाइनमा बस्ने स्थानमा स्वास्थ्य मापदण्ड पालना गराउन कठिन भएको सुनाउनुभयो ।

यस्तै पोखरा महानगरपालिका वडा नम्बर ५ को खोप केन्द्रमा भेदभाव गरिएको भन्दै गुनासो सहित केही समय होहल्ला समेत भएको थियो ।

सो वडाका स्थानिय किशोर तिमिल्सिना आफ्ना मान्छेलाई छानी छानी खोप लगाउने तर उमेर पुगेका नागरिकलाई वेवास्ता गरिएको भन्दै खोप केन्द्र बाहिर गुनासो गर्दै हुनुहुन्थ्यो ।

‘भित्रबाट तपाई आउनुस् यो आउनुस् भन्दै लाइनमा लगाउने काम भयो । बिहान देखि आउनुभएका आमाहरूले पाउनुभएन यो भेदभाव हो ।’,–उहाँले भन्नुभयो ।

वडा नम्बर ५ खोप केन्द्रका प्रमुख आशिक सुवेदीले भने कुनै भेदभाव नगरिएको स्पष्ट पार्नुभयो ।

त्यस्तो कुनै भेदभाव छैन, उमेर पुगेका सबैलाई लगाउने व्यवस्थापन गरिएको छ । खास गरी वैदेशिक रोजगारीमा जानेलाई प्राथमिता दिइएको छ ।’ –उहाँले भन्नुभयो– ‘त्यसो हुँदा बढी युवाहरू आउनुभएको छ । गुनासो त्यसै विषयमा होला तर व्यक्ति छानेर लगाउने काम भएको छैन ।’,

photo20210729Kaski4

सुवेदीले अपाङ्गता भएका नागरिकहरूलाई जुनसुकै समयमा खोप लगाउने व्यवस्था गरिएको बताउनुभएपनि खोप केन्द्र भने अपाङ्गमैत्री देखिएन ।

भवनको माथिल्लो तला खोप लगाउने व्यवस्थापन गरिएको छ ।

पोखरा महानगरपालिकाले साउन १२ र १४ गते विभिन्न खोप केन्द्र मार्फत ५२ वर्ष देखि ५४ वर्ष उमेर समूहकालाई खोप लगाउने व्यवस्था गरेको थियो ।

वडा नम्बर ५ का अध्यक्ष तथा महानगर प्रवक्ता धनबहादुर नेपालीले आजबाट खोप सकिएको र अबको चरणमा बारे थप खोप आएपछि नै जानकारी गराइने बताउनुभयो ।

खोप केन्द्रको अनुगमनका लागि इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरे र पत्रकारको टोली पुग्नुभएको थियो ।

इन्सेक गण्डकी संयोजक शिव खकुरेलले खोप केन्द्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालनाका लागि पहल गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले खोप केन्द्रलाई अपाङ्गमैत्री बनाउनुपर्ने, नागरिकहरूलाई खोप लगाउने दिनको जानकारी साथै आवश्यक कागजातबारे पनि पर्याप्त जानकारी गराउनुपर्ने सुझाव दिनुभएको थियो ।

पछिल्लो समयमा कास्कीमा कोभिड–१८ सङ्क्रमणको दर पुनः बढ्न थालेको छ । साउन १४ गण्डकी प्रदेशमा कुल ६ सय २५ नयाँ सङ्क्रमित मध्ये २ सय ५५ जना कास्कीका रहेका छन् ।


सुशन घिमिरे