कालिमाटी–दम्दवाली सडक एक महिनादेखि अवरुद्धः नागरिकलाई सास्ती

  ०८१ साउन १५ गते

सल्यान जिल्लाको कालिमाटी गाउँपालिका अन्तर्गत पर्ने कालिमाटी–बालुवा–दम्दवाली सडक करिब एक महिनादेखि अवरुद्ध भएको छ । असारको दोस्रो हप्तामा परेको अविरल वर्षातका कारण दम्दवाली नजिकैको सालघारी खोलाले बगाई ल्याएको ठूल्ठूला ढुंगा सडकमा थुप्रिने र केही भाग भत्किँदा यातायात सञ्चालन हुन नसकेको हो । महिना दिनदेखि सडक अवरुद्ध भए पनि सम्बन्धित निकायले मर्मतमा ध्यान नदिएको स्थानीयको भनाइ छ ।

सडक अवरुद्ध भएपछि कालिमाटी गाउँपालिका ५ दम्दवाली, हात्तीदमार लगायतका बस्तीका नागरिक प्रभावित भएका छन् । मुख्य सडक अवरुद्ध हुँदा पालिका र अन्यत्र जाने सवारीसम्म पुग्न स्थानीयबासी दुई÷तीन घण्टा हिँड्न बाध्य भएका छन् । त्यत्तिमात्र नभई बिरामी भएकालाई उपचारको लागि बाहिर लैजान भने स्थानीयलाई धेरै समस्या भएको छ ।

सडक मर्मतमा सम्बन्धित निकायले बेवास्ता गर्दा आफूहरू समस्यामा परेको र गाडी चढ्नका लागि लामो समय हिँड्नुपर्ने बाध्यता रहेको दम्दवालीका स्थानीय सुरेशकुमार गाहामगरले बताउनुभयो । गाडी नचल्दा अहिले गाउँघरमा बिरामी परेकालाई उपचारका लागि बाहिर लैजान धेरै गाह्रो भएको उहाँको भनाइ छ । ‘हामीले सडक अवरुद्ध भएको सम्बन्धित निकायमा जानकारी गराएका छौं र दुई घण्टामात्र डोजर लगाएदिएमा गाडी चल्न सक्छन्, खोलाले सडकमा थुपारेको ढुंगा हटाउन कुनै पहल भएको छैन,’ उहाँले भन्नुभयो ।

सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु किनेर ल्याउन नपाएको र कार्यालयको कामकाजसमेत प्रभावित भएको स्थानीय ४० वर्षीय भूपेन्द्र खत्रीले बताउनुभयो । ‘सल्यान खलंगा–कालिमाटी–दम्दवाली–घुईयाबारी हुँदै नेपालगन्ज जोड्ने उक्त खण्डमा बाँके राष्ट्रिय निकुन्जले सडक खन्न नदिँदा हामी अहिले पनि नेपालगन्ज, सुर्खेत जान पालिकाको केन्द्र पुतलीबजार आउनु पर्छ, घुइयाबारी हुँदै तीन घन्टामा नेपालगन्जमा पुग्न सकिनेमा दिनभरि यात्रा गर्नु पर्छ, त्यसमाथि अहिले हिँड्नु पर्दा धेरै गाह्रो भएको छ,’ उहाँले भन्नुभयो ।

दैनिक जसो हुने वर्षात्ले पहिरो जाने, जुमखोलाको सडक पनि बिहान मर्मत ग¥यो, बेलुकी भत्किएर उस्तै हुने अवस्था रहेको वडाध्यक्ष टोपबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा दुई बस्तीका १ सय ५८ परिवार पूर्णरुपमा प्रभावित छन् । ‘दैनिक हुने वर्षात्का कारण बिहान मर्मत गरेको सडक बेलेकी उस्तै हुन्छ । पैसामात्र खर्च हुने भएकाले तत्काल मर्मतको काम गरेका छैनौं,’ उहाँले भन्नुभयो ’वर्षात् रोकिएपछि मात्र अवरुद्ध सडकमा खसेको पहिरो हटाउने र मर्मत गर्ने काम हुन्छ ।’

20240730Salyan

 


बुद्धिमान पुन