कालिकोटमा मतदाता शिक्षा सामाग्री लुट्यो

  ०७४ मङ्सिर १ गते

नरहरिनाथ गाउँपालिका-४ को गोठीमा मङ्सिर १ गते बिहान मतदाता शिक्षा सामग्री लुटिएको छ । गोठी मतदान केन्द्रका मतदाताको लागि लैजाँदै गरेको मतदाता शिक्षा सामग्री नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकताहरूले लुटेका हुन् ।

मतदानसम्बन्धी जानकारी गराउन जाने क्रममा बिच बाटोमै निर्वाचन सामग्री लुटिएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।

मङ्सिर १० गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्लाका प्रत्येक मतदान केन्द्रमा मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको भएपनि निर्वाचन शिक्षा कार्यक्रमको सामग्री लुटिएकोले काम गर्न असहज भइरहेको निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।

निर्वाचन कार्यालय कालिकोटका प्रमुख मणिराम भट्टराईले पोष्टरहरू, नमूना मतपत्र, स्वस्तिक छापलगायतका सामग्री लुटिएकाले थप निर्वाचन शिक्षा सामग्री पठाउन लागिएको बताए ।

'मतदातालाई निर्वाचन शिक्षा दिन जाने क्रममा अवरोध सिर्जना भएको छ ।'-उनले भने-'पोष्टरलगायतका नमूना मतपत्र च्यातिएको खबर आएको छ ।'


कालीवहादुर मल्ल