कार्यालय सहयोगी हत्या घटनाका आरोपित गिरफ्तार

  ०७८ असार २९ गते

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ स्थायी घर भई उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीया विमलादेवी पराजुलीको हत्या गरेको आरोपमा प्रहरीले प्रहरी असइ ३५ वर्षीय युवराज बानियालाई असार २८ गते गिरफ्तार गरी २९ गते सार्वजनिक गरेको छ ।

उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यालय सहयोगीका रूपमा कार्यरत ४५ वर्षीया विमलादेवीको असार २८ गते अदालत परिसरमा अर्ध नग्न अवस्थामा शव फेला परेको थियो ।

इलाम इजलासमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा खटिएका आरोपित बानियाँले न्यायाधीश विदामा रहेको मौकामा न्यायाधीशकै क्वाटरमा पराजुलीको हत्या गरेको स्वीकार गरेको भएपनि के कारणले हत्या भएको हो सो विषयमा प्रष्ट हुन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र श्रेष्ठले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितको शव कार्यालय पोशाकमै अर्ध नग्न अवस्थामा भेटिए पनि यौनजन्य क्रियाकलापपछि हत्या गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो । आरोपितले प्रारम्भिक अनुसन्धानमा लेनदेन विवादमा घाँटी थिचेर हत्या गरेको बयान दिएपनि शवको प्रकृति अलि भिन्न देखिएकाले यौनजन्य गतिविधिपछि हत्या गरेको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताउनु भयो ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा असार २९ गते गरिएको छ ।


कोकिला ढकाल