कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो

जिल्ला अस्पतालमा कार्यालय प्रमुखविहीन भएपछि दुई महिनादेखि तलब नपाएको स्वास्थ्यकर्मीको गुनासो गरेका छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले तलव पाएका छैनन् । जिल्ला अस्पतालसँगै स्वास्थ्य सेवा कार्यालयमा कार्यरत कर्मचारी, डाक्टर, स्वास्थ्यकर्मी र कार्यालय सहयोगी सहित गरेर ८७ जनाले दशैँको मुखमा तलब नपाएका हुन् । झन्डै दुई महिनादेखि कार्यालय प्रमुखविहीन भएको कार्यालयमा सम्बन्धित निकायले प्रमुखको जिम्मेवारी कसैलाई तोक्न नसक्दा दशैको मुखमा तलब नपाएको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्

जनताको सेवामा रातदिन नभनी खटिएर सेवा दिंदै आएपनि दसैंको समयमा तलब नपाएपछि स्वास्थ्य सेवा कार्यालय तथा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी कर्मचारी आक्रोसित बनेका छन् । तत्कालीन कार्यालय प्रमुख डा. पुजा आचार्य सरुवा भएर गएको तर उहाँको ठाउँमा नयाँ प्रमुख नतोकिदा समस्या भएको हो । राजनीतिक खिचातानीले आफू निकटको व्यक्तिलाई प्रमुख तोक्न दवाव दिदैँ आएपछि स्वास्थ्य कार्यालय दुई महिनादेखि प्रमुखविहीन छ ।

कार्यालय प्रमुख नभएकै कारण दशैंमा तलव खान नपाएको अस्पतालमा कार्यरत डा. अर्जुन बुढामगरले बताउनुभयो । ‘तलब पाए दशैं पर्व मनाउन घर जाने हुन्थ्यो, तलब नै आएको छैन कसरी जानु र’ उहाँले भन्नुभयो दिनरात बिरामीको सेवामा खटिएका छौँ, तर तलव आएका छैन् ।नयाँ कार्यालय प्रमुखको लागि पहल गर्दै आएपनि सम्बन्धित निकायले बेवास्ता गरेको उहाँको भनाइ छ ।

अस्पतालमा कार्यरत अर्का डा. अभिषेक सिंहले कार्यालय प्रमुख नभएका कारण स्वास्थ्यकर्मी र कर्मचारीको तलब मात्र नभइ कार्यालयले गर्नुपर्ने सबै काम रोकिएको बताउनुभयो । कार्यालय प्रमुख नभएकै कारण अस्पतालमा अभाव भएको औषधिको अहिलेसम्म पूर्ति हुन नसक्दा सेवा दिन कठिनाइ भएको उहाँको भनाइ छ । एनएसआईबाट जिल्ला अस्पताल सल्यानमा कार्यरत उहाँले स्वास्थ्य सेवा कार्यालय प्रमुखले हस्ताक्षर गरी केन्द्रमा पठाएपछि तलब आउने भएपनि कार्यालय प्रमुख नभएकै कारण तलब आउने संभावना नरहेको जानकारी दिनुभयो ।

‘तलब पाए दशैँ पर्व मनाउन घर जान हुन्थ्यो, तलब खान पाइएको छैन, गोजीमा पैसा छैन कसरी जानु’ उहाँले भन्नुभयो ‘प्रमुख नहुँदा अहिले धेरै समस्या भएको छ ।’जिल्ला अस्पताल सल्यानमा कार्यरत कार्यालय सहयोगी अम्बिका भडेँलले तलब पाउन नसक्दा सापटी लिएर दशैं मनाउनुपर्ने अवस्था आएको बताउनुभयो ।


बुद्धिमान पुन