कार्यालय प्रमुखले दुर्व्यवहार गरेको आरोप

  ०७३ माघ १८ गते

कृषि व्यवसायी सङ्घका पदाधिकारी तथा कृषक समूहका प्रतिनिधिलाई जिल्ला पशु सेवा कार्यालयका प्रमुख नन्दलाल बर्माले आफ्नै कार्यकक्षमा माघ १७ गते दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

कार्यालयले कृषकलाई उपलब्ध गराउने कार्यक्रमबारे जानकारी लिन बर्माको कार्यकक्षमा पुगेको कृषक समूहलाई अश्लिल शब्दले गालीगलौज गरेको भन्दै कृषकहरूले विरोध जनाएका छन् ।

मध्यपहाडी लोकमार्ग तथा हुलाकी मार्ग बजार लक्षित एकीकृत दुग्ध उत्पादन प्रवर्धन, बकेर्नो भैंसी संरक्षण, डेरी पकेट क्षेत्र एकीकृत दुग्ध उत्पादन प्रवर्धन कार्यक्रमलगायतका कार्यक्रमबारे जानकारी लिन पुगेका कृषकहरूलाई बर्माले अमर्यादित व्यवहार गरेको पत्रकार सम्मेलनमा किसान प्रतिनिधिले जानकारी दिएका छन् ।

बकेर्नो भैंसी संरक्षण कार्यक्रमबारे जानकारी माग्दा अगुवा कृषक गुरुप्रसाद पौडेललाई गालीगलौज गरेको उनले आरोप लगाए । कृषकका लागि विनियोजित बजेट लामो समयसम्म प्रयोग नगरिएपछि कृषकको समूह जानकारी लिन कार्यालय पुगेका थिए ।

साना किसान लक्षित कुखुरा प्रवर्धन, बंगुर व्यवसाय सुधार राष्ट्रिय अभियान, गाई भैंसी बंगुर तथा बाख्रा पालनका लागि युवा लक्षित अनुदान सहयोग कार्यक्रमका लागि विनियोजित बजेट दोस्रो चौमासिक सकिन लाग्दा समेत सञ्चालन नगरिएको बारे कृषकहरूले जानकारी माग्दा कार्यालय प्रमुख बर्माले अमर्यादित व्यवहार गरेको पौडेलले आरोप लगाए ।

उक्त घटनाबारे तत्काल छानबिन गरी दोषी उपर कारबाही गर्न प्रेस विज्ञप्तिमार्फत कृषकहरुले उनीहरूले अनुरोध गरेका छन् । कृषि व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सुरेन्द्र पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाबारे पशुपन्छी विकास मन्त्रालय तथा पशु सेवा विभागले १५ दिन भित्र कारबाही गर्नु पर्ने माग गरिएको छ । उक्त घटनाको विषयमा कार्यालय प्रमुख बर्मासँग सर्म्पर्क गर्दा सर्म्पर्कमा आउन चाहेनन् ।


सन्तोष रुचाल