कार्यविधिमार्फत विपन्न परिवारलाई गाउँपालिकाको काजक्रिया खर्च

  ०७८ भदौ २८ गते

कटहरी गाउँपालिका–७ की ६८ वर्षीया ज्येष्ठ नागरिक होलीदेवी सरदार बाँतरको ०७८ भदौ १५ गते मृत्यु भयो ।

आर्थिक रूपले अति विपन्न होलीदेवीको अन्त्येष्टी र काजक्रियाका लागि ५२ वर्षीय छोरा देवनारायण सरदारले गाउँपालिकाले आर्थिक २०७७।०७८ देखि सुरूआत गरेको असहाय तथा अति विपन्न जोखिम न्यूनीकरण कार्यविधि अन्तरगत तोकिएका कागजात जुटाएर क्रिया खर्चबापत ७ हजार रुपियाँ भदौ २७ गते पाउनु भयो ।

अति विपन्न परिवारका देवनारायणले आमाको काजक्रियाका लागि ७ हजार रुपियाँ आर्थिक सहयोग गाउँपालिकाबाट पाउने देवनारायण एक जना प्रतिनिधि पात्रमात्र हुन् ।

गाउँपालिकाले अति विपन्न परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउन थालेयता आर्थिक वर्ष २०७७।०७८ मा १ सय ६३ परिवारले ११ लाख ४१ हजार रुपियाँ काजक्रिया खर्च स्वरूप पाएको गाउँपालिकाका सूचना अधिकारी जानकीप्रसाद अधिकारीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

गाउँपालिकाले राहत स्वरुप प्रदान गर्ने क्रिया खर्च लिनका लागि सम्बन्धित वडा कार्यालयबाट मृत्यु भएको ३५ दिनभित्रमा मृत्यु दर्ता गरिएको प्रमाणपत्र, वडा कार्यालयले अति विपन्न प्रमाणित गरीदिएको सिफारिस र क्रियाखर्च लिन आउने व्यक्तिसँगको नाता प्रमाणितको कागजात आवश्यक रहने गाउँपालिकाका कर्मचारी राजेश भट्टराईले बताउनु भयो ।

अति विपन्न परिवारलाई काजक्रिया खर्च उपलब्ध गराउँदै आएको गाउँपालिकाले चालू आर्थिक वर्षको भदौ २५ गतेसम्ममा ३५ परिवारलाई २ लाख ४५ हजार रुपियाँ उपलब्ध गराएको गाउँपालिकाका सूचना अधिकारी जानकीप्रसाद अधिकारीले बताउनु भयो ।

नेपालको संविधानले धारा ४२ मा सामाजिक न्यायको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धारामा उपधारा २ मा आर्थिक रूपले विपन्न तथा अति लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, खाद्य र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हकको व्यवस्था गरिएको छ ।

धारा ४३ मा सामाजिक सुरक्षाको हकलाई संविधानले मौलिक हकका रूपमा ब्याख्या गरेको छ । जसमा आर्थिक रूपले विपन्न,अशक्त र असहाय अवस्थामा रहेकाहरूलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हकको व्यवस्था गरिएको छ ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी महासन्धीले धारा १५ मा सांस्कृतिक जीवनमा सहभागी हुने अधिकारलाई निश्चित गरेको छ ।


अर्जुन दर्जी