कार्यपालिका सदस्यलाई मार्ने धम्की

  ०७९ साउन ६ गते

गजुरी गाउँ कार्यपालिका सदस्य २६ वर्षीय आयुष चेपाङलाई ०७९ साउन ५ गते मार्ने धम्की दिईएको छ ।

गजुरी गाउँपालिका माओवादी केन्द्रका पार्टी कमिटी अध्यक्ष सूर्य तामाङले गाउँपालिका कार्यालय भित्र धम्की दिएको पीडित चेपाङले बताउनुभयो ।

गजुरी गाउँपालिका-५ निवासी चेपाङ गाउँपालिका कार्यालयमा रहेका वडा अध्यक्षलाई भेट्न गएको बेला सिध्याउन सक्ने धम्की दिएकोले आफू असुरक्षित भएको पीडितको भनाई छ ।

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको कार्यकक्षमा समेत तामाङले धम्की दिएपछि नेकपा एमाले र नेकपा समाजवादीले गाउँ पालिकामा जीउ ज्यानको सुरक्षा पाउँ भनि ज्ञापनपत्र बुझाएका छन् ।

नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस मिलेर फरक मत राख्नेहरूलाई दमन र हमला गर्न थालेको भन्दै नेकपा एमाले र एकीकृत समाजवादीले संयुक्त रूपमा विरोध जनाएका हुन् ।

दुई पार्टीले बहुमतको आडमा करारका कर्मचारी हटाउने, आन्तरिक राजस्वमा हानी नोक्सानी पुग्ने काम गर्ने तथा विपक्षी जनप्रतिनिधिलाई गुण्डागर्दी सैलीमा हमला गर्न थालेले बिरोध जनाउँदै संयुक्त ज्ञापनपत्र समेत बुझाएको नेकपा एमालेका कार्यकर्ता वसन्त दुवाडीले बताउनुभयो ।

गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा माओवादीबाट र उपाध्यक्ष कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।


सीताराम अधिकारी