कार्यकक्षमै लेखापालमाथि दुर्व्यवहार, आरोपितलाई गिरफ्तार गरी कारवाही गर्न माग

सुर्नया गाउँपालिका कार्यालयका लेखा प्रमुख दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २४ वर्षीय भवानी भट्टमाथि स्थानीय भरतमोहन मडै र गणेश मडैलगायतले कार्यकक्षमै दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

पीडित भट्टलाई आरोपितहरूले असोज २६ गते दिउँसो १ बजे कार्यकक्ष भित्र प्रवेश गरी गाली गलौज गर्नुका साथै हातपात गरेपछि पीडित न्यायका लागि जिल्ला सदरमुकाम आएका छन् ।

उक्त घटनापछि प्रशासकीय प्रमुख, लेखा प्रमुख लगायतका कर्मचारी गाउँपालिका छोडेर सदरमुकाम आएका हुन् ।

घटनाको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएको पीडित भट्टले बताए । कर्मचारीमाथि कार्यकक्षमै दुर्व्यवहार गरेका आरोपितहरू फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी कान्तिराज जोशीले बताए ।


नरी बडु