कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

  ०७८ पुस २१ गते

क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आएको जिल्ला कारागार, दार्चुलामा ०७८ पुस पहिलो साता थप आठ जना कैदी थपिएसँगै कारागार व्यवस्थापनमा समस्या भएपछि कैदीबन्दीहरुले थप सास्ती खेप्नु परेको छ ।

कञ्चनपुर जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि आठ जना कैदी जिल्ला कारागार, दार्चुला ल्याइएपछि शौचालय प्रयोग गर्न र सुत्नलाई समस्या उत्पन्न भई कैदीबन्दीहरुले सास्ती खेप्नु परेको कारागारका नाइके ललित पन्तले दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो– ‘ क्षमता भन्दा बढि कैदीबन्दी हुँदा महिला कैदी घरमा समेत पुरुष कैदीहरुलाई राखिएको छ । शौचालय जान पालो कुर्नु पर्ने र चिसोको समयमा ओढने ओछ्याउने लुगाको समेत समस्या भएको छ ।’

क्षमता भन्दा बढी कैदीबन्दीहरु राखिएको कारण कोचिएर बस्नु पर्ने बाध्यता रहेको जिल्ला कारागार, दार्चुलामा कैद भुक्तान गरिहेका प्रकाससिंह धामीले गुनासो गर्नु भयो ।

कञ्चनपुर जिल्ला कारागारमा ठाउँ अभाव भएपछि २८ जना कैदीहरुलाई दार्चुला, डडेल्धुरा र कैलाली जिल्ला कारागारमा स्थान्तरण गरिएको जिल्ला कारागार, दार्चुलाका जेलर विरेन्द्रसिंह धामीले बताउनु भयो ।

उहाँले जिल्ला कारागार, कञ्चनपुरबाट १० जनालाई कैलाली, १० जनालाई डडेल्धुरा र आठ जनालाई दार्चुला कारागार पठाएको र जिल्ला कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या आएको बताउनु भयो ।

‘घ’ क्षेणीको जिल्ला कारागार, दार्चुलामा २५ पुरुष र १५ जना महिला गरी ४० जनाको मात्रै क्षमता रहेको छ । हाल कारागारमा ५९ कैदी र नौ जना थुनुवा गरी ६८ जना रहेका छन् । जसमध्ये कैद तोकिएका दुई महिला सहित ५९ जना र नौ जना थुनुवा पुरुष छन् । कारागारमा एक जना नाबालिका छन् । ६५ वर्ष माथिका दुई जना कैदी रहेका छन् ।

‘पुरुष कैदीबन्दी तीन गुणाबढि पुगेको छ,’ जेलर धामीले भन्नु भयो, ‘जीर्ण कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी राख्नु पर्दा व्यवस्थापन गर्न चूनौती छ । वर्षामा कारागार भवनको छत चुहिने गर्दछ । अहिले चिसो निकै बढेको छ ।’ अहिले महिला राख्ने दुई ओटा कोठामा पुरुष कैदीबन्दी राखेर व्यवस्थापन गरिएको जेलर धामीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले अहिले वर्षको दुई पटक कारागार अनुगमन गर्ने गरेको भएपनि यो वर्ष कारागारको अनुगमन गर्न नपाइएको बताउनु भयो ।

उहाँले चिसो बढ्दै गएको कारण उहाँहरुको अवस्था बुझ्नका लागि जिल्ला कारागारको अनुगमन गरिने र सम्बन्धीत निकायमा समस्या समाधानका लागि जानकारी पठाउने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार, दार्चुलाको ०७८ पुस २१ गते निरीक्षण अनुगमन गर्नु भएको छ ।

प्रदेश सरकारले कारागारको सुदृढिकरण गर्ने उद्वेश्यले जिल्ला कारागारको अवस्थाको बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताउनु भयो ।

अहिले प्रदेशभरीका कारागारहरुमा कैदीबन्दी क्षमता भन्दा बढी रहेको हुँदा पनि अनुगमन गर्नु परेको उहाँले बताउनु भयो ।

उहाँले कारागारभित्रका कैदीबन्दीको आयआर्जनका लागि सिपमूलक कार्यक्रम अन्तर्गत प्रदेश सरकारले दार्चुलाका लागि ४ लाख रुपियाँ बजेट विनियोजन गरिएको बताउनु भयो । कारागार भित्र रहेका कैदीबन्दीले सिपमूलक कार्य गर्न सकुन् र व्यवसायिक बन्न सकुन भन्ने उद्धेश्यले बजेट विनियोजन गरिएको उहाँले बताउनु भयो ।

उहाँले कारागारको भौतिक सुधारका लागि पनि आफूले पहल गर्ने र चालु आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि ८ लाख रुपियाँ बजेट विनियोजन गरिएको बताउनु भयो ।


नरेन्द्रसिह कार्की