कारागार व्यवस्थापन हुन नसक्दा कैदीबन्दीलाई सास्ती

  ०७८ पुस ९ गते

९५ जनाको क्षमता रहेको जिल्ला कारागारको व्यवस्थापन हुन नसक्दा कैदीबन्दीहरुले सास्ती भोग्दै आएका छन् ।

९५ जना क्षेमता रहेको जिल्ला कारागारमा ४ सय ५० जना कैदीबन्दीहरु राखिदै आएपछि सास्ती भोग्नु परेको हो ।

क्षमता भन्दा चार गुणा बढी कैदीबन्दीहरु राख्नु पर्दा व्यवस्थापनमा समस्या उत्पन्न भएपछि कैदीबन्दीहरुले सास्ती खेप्नु परेको जिल्ला कारागार, कञ्चनपुरका प्रमुख माया बस्नेत थापाले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘२० जना महिला र ७५ जना पुरुषको क्षमता रहेको जिल्ला कारागारमा अहिले ४ सय ५० जनालाई राखिएको छ । कैदीबन्दीहरुलाई राख्नको लागि कोठा कम छन् । सानो कोठामा १५ ÷ २० जना र ठुलो कोठामा ४० ÷ ५० जना राख्दै आएका छौँ । कोचिएर बस्नु पर्ने बाध्यता छ ।’

कारागार चौकीदार टेकराज जोशीले क्षमता भन्दा बढी कैदीबन्दी राखिएपछि शौचालय जानका लागि समेत लाइनमा पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कारागारमा ४ सय ५० जना कैदीबन्दी रहेका छन् । तर, शौचालय १४ ओटा मात्रै छन् । पुरुषका लागि १२ ओटा र महिलाका लागि दुई ओटा शौचालय रहेका छन् । शौचालय जानकै लागि घण्टौ कुर्नु पर्ने बाध्यता छ ।’

कैदी नाइके सञ्जय थापाले क्षमता भन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न, खान, कपडा धुन, नुहाउन, शौचालय जान र खानेपानीको समस्या झेलिरहनु परेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘कोचिएर बस्नुपरेकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सकिएको छैन । ज्यानको जोखिम छ । कोभिडले समात्ला भन्ने डर छ ।’

१४ वर्षदेखि कैदै भुक्तान गर्दै आइरहेकी ४५ वर्षीया जानकी देवी जोशीले चिसोको समयमा शौचालय जान समेत पालो कुर्नु पर्ने र कारागार भित्र सुत्न, बस्न ठाँउ नै नभएपछि कम्मर र शरीर दुख्ने समस्याले पीडित भएको बताउनु भयो ।

कारागारका कैदी नाइके चन्दन ऐरले जिर्ण अवस्थामा रहेको कारागार भवन व्यवस्थापन नगरिएका कारण पानी पर्दा चुहिने र खाना खाँदा, सुत्दा पालैपालो गरी सिफट् दिनु पर्ने बाध्यता रहेको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘प्रतेक दिन थुनुवा सङ्ख्या बडिरहेको छ । तर, कारागारको भौतिक संरचनामा केही परिवर्तन भएको छैन । पाल टाँगेर बस्ने गरेका छौँ । अब त पाल राख्न पनि ठाँउ छैन । चिसो धेरै छ । त्रिपाल बिछ्छाएर शौचालयको ढोकासम्म सुतिराखेका छौँ । सुत्न विछ्छाउन बिस्तरा छैनन् । रातभरी जागराम बस्नु परेको छ । रुघाखोकी, शरीर दुख्ने समस्या अधिकांश कैदीबन्दीहरुमा रहेको छ । ज्येष्ठ नागरिक कैदीबन्दीहरुलाई थप समस्या भएको छ ।  कारागार भित्र खेल सामग्री लुडो, क्यारेम बोर्ड, चेस छैन । पुस्तकालयमा पुराना पुस्तकहरु मात्रै छन । नियम, कानुन, संविधानका किताबहरुको व्यवस्था गरि दिनु पर्छ ।’

१४ वर्षदेखि जेल जिवन विताइरहनु भएकिन कैदी जानकीदेवी जोशीले बस्न, सुत्न र  शौचालयको धेरै समस्या रहेको बताउनु भयो ।

कैदी सुनिता डगौराले जिल्ला कारागार भित्र शिपमूलक तालिम, कटाई बुनाईको व्यवस्था नएको र क्षमता भन्दा बढी कैदीबन्दी राखिएकोले बस्न, सुत्न, सरसफाई गर्न समस्या भएको बताउनु भयो ।

जिल्ला कारागार, कञ्चनपुरका जेलर माया बस्नेत थापाले २०२३ सालमा निर्माण भएको कारागार भवन जीर्ण अवस्थामा रहेको र भौतिक संरचनाको अभावमा  कैदीबन्दीहरुलार्य बस्न, सुत्न, शौचालय जान समस्या भएको बताउनु भयो भयो ।

उहाँले कारागार व्यवस्थापनका लागि सम्बन्धीत निकायमा पटकपटक अनुरोध गरिएको भएपनि सुनवाइ हुन नसकेको बताउनु भयो ।


लिली कुँवर