कारागार व्यवस्थापनमा समस्या हुदा कैदीबन्दीलाई सास्ती

  ०७८ असोज २२ गते

जिल्ला कारगार, दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि व्यवस्थापनमा समस्या उत्पन्न भएपछि कैदीबन्दीहरुले सास्ती खेप्नु परेको छ ।

२५ जना पुरूष र १५ जना महिलाको क्षमता रहेको जिल्ला कारागार, दार्चुलामा ६१ जना कैदीबन्दी राखिएपछि कैदीबन्दीहरुले सास्ती खेप्नु परेको हो ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण सुत्न, शौचालय प्रयोग गर्न समस्या हुने गरेको कैदीबन्दीहरुको गुनासो रहेको छ ।

३५ जना क्षमता भएको जिल्ला कारागारमा हाल ५३ जना पुरुष र आठ जना महिला कैदीबन्दी रहेका छन् ।

क्षमता भन्दा बढी कैदीबन्दी राखिदै आइएको भएपनि सोही अनुसार कारागार व्यवस्थापन नगरिएको कारण शौचालय जान लाइनमा बस्नु पर्ने, सुत्न, खानलगायतका समस्याहरु झेल्नु परेको कैदी गुरुदेव रानाले गुनासो गर्नु भयो ।

क्षमता भन्दा बढी कैदीबन्दी राख्नु पर्दा कैदीबन्दीहरुलाई समस्या उत्पन्न भएको र महिला कैदीबन्दी राख्नका लागि बनाएको भवनमा समेत पुरुष कैदीबन्दीहरुलाई राख्नु पर्ने बाध्यता रहेको जिल्ला कारागारका जेलर बीरेन्द्रसिंह धामीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘ भवन आभावका कारण समस्या उत्पन्न भएको छ । कारागारको छानोमा जस्तापाताले बनाएको कारण गर्मीको बेला कैदीबन्दीहरुलाई स्वास्थ्य समस्या देखिने गरेको छ । ’

कैदीबन्दीहरु बिरामी हुँदा जिल्ला अस्पताल लिनु र लैजान समस्या भएकोले एक जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको कारण हाल कैदीबन्दीहरुको स्वास्थ्य चेकजाँच तथा उपचारमा केही सहज भएको भएपनि कारागार व्यवस्थापनका लागि हरेक वर्ष कारागार विभागलाई अनुरोध गर्दै आएको भएपनि सम्बोधन हुन नसकेको जेलर धामीले बताउनु भयो ।

जिल्ला कारागारको भवन पुरानो र जिर्ण अवस्थामा रहेको छ ।

कारागार भित्रै आम्दानी गर्दै कैदीबन्दी

कैदीबन्दीहरुले कारागार भित्रै सिलाई व्यवसाय सञ्चालन गर्दै आम्दानी गर्दै आएका छन् । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका गुरुदेव रानाले कारागार भित्रै सिलाई व्यवसाय सञ्चालन गर्दै आएपछि उहाँले मासिक ७ हजार रुपियाँसम्म आम्दानी गर्दै आएका छन् । कारागार आउनु भन्दा पहिला सञ्चालन गरेको सिलाइकटाई  पसलमा आउने ग्राहकहरु अहिले पनि कारागार भित्रै सिलाउन आउने गरेको रानाले बताउनु भयो ।

त्यतिकै बस्नुभन्दा आफ्नो सीप को प्रयोग गरेर बसेको छु, रानाले भन्नु भयो । भित्रै कपडा सिलाउन कारागार प्रशासनले सिलाई मेसिन उपलब्ध गराएको छ । रानाले कारागारको बाहिर नै सिलाइकटाईको लागि बोर्ड राख्नुभएको छ ।

बजारको मूल्यभन्दा सस्तो मूल्यमा लुगा सिउने काम गर्ने गरेको उहाँले बताउनु भयो । बाहिरको दररेट भन्दा १ सय रुपियाँ कम मूल्यमा कपडा सिलाउने गरेको छु । बाहिर हुँदा भाडा तिर्नु पर्ने हुन्थ्यो । कारागार भित्र भाडा तिर्नु पर्दैन्, १ सय रुपियाँ कम गर्दा पनि आफ्नो व्यक्तिगत खर्च चलाउन पुगेको छ ।

photo20211008darchula (1)

उहाँ मात्र हैन अहिले कारागारभित्र तीन जना सिलाई व्यवसाय गर्ने कैदीबन्दी छन् । कपिलरा कोली, धिरज परिवार पनि गुरुदेव रानासँगै सिलाई व्यवसाय गर्दै आएन भएको छ ।

कारागार भित्र सिलाइकटाइ गर्ने कैदीबन्दीहरु धेरै भएको भएपनि मेसिन अभाव भएपछि सिलाइ मेसिनका भाग गरिएको जेलर धामीले बताउनु भयो ।

पहिले एक जना मात्रै लुगा सिउने व्यक्ति थिए, उहाँले भन्नु भयो, अहिले दुई जना थपिएसँगै तीन जना पुगेका छन् । तर, हामीसँग मेसिन दुई ओटा मात्रै छ । भित्रै त्यतिकै बस्नुभन्दा सिकेको सीप प्रयोग गछौँ भनेपछि मेसिनलगायत उहाँहरुलाई चाहिने अन्य समान व्यवस्थापन गरिदिएको उहाँले बताउनु भयो । थप मेसिन र कारागारका कैदीबन्दीहरुको लागि आवश्यक तालिम दिने तयारी गरेका छौँ ।


नरेन्द्रसिह कार्की