कारागार प्रमुखले कैदीबन्दीहरूलाई दुर्व्यवहार गरेको आरोप

जिल्ला कारागारमा रहेका कैदीबन्दीहरूले कारागार प्रमुख रामकृष्ण घिमिरेले आफूहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन् । राज्यले दिने सुविधामा समेत आफूहरूले पैसा तिर्नु परेको गुनासो गर्दा कारागार प्रमुखले दिएको जिम्मेवारी खोस्ने, अन्यत्र पठाइदिने लगायतका धम्की दिँदै मानसिक त्रासमा राख्ने गरेको कैदीबन्दीहरूको आरोप छ ।

जिल्ला कारागारका नाइके बिष्णु तामाङले कारागार प्रमुख घिमिरेले कारागार भित्र विकास निर्माणका लागि आएको कार्यक्रमहरू कैदीबन्दीलाई काम गर्न लगाएर रकम आफैले खाने गरेको, भीमेश्वर नगरपालिकाबाट गत दशैँमा खसी किन्न दिएको १५ हजार रुपियाँ हालसम्म नदिएको, उपचारमा समयमा नलैजाने, बिजुली र पानीको पैसा कैदीबन्दीले उठाएर तिर्नुपर्ने, बन्दीले आफन्तको किरियामा जाँदा पाउने सरकारी सुविधा नदिएको, कैदीबन्दीहरूलाई दुर्व्यवहार गर्ने गरेको बताउनु भयो । उहाँले प्रमुख घिमिरेलाई तुरुन्त सरुवा नगरे आफूहरूले थप आन्दोलन गर्ने बताउनु भयो ।

इन्सेकलाई जानकारी दिँदै कारागार प्रमुख घिमिरेले राज्यबाट प्राप्त सेवा सुविधा कैदीबन्दीहरूलाई दिएको दाबी गर्नुभयो । आफूले कैदीबन्दीहरूलाई दिएको जिम्मेवारी खोस्ने काम नगरेको र उपचार खर्च लगायतका सुविधा पाउन प्रक्रियागत रूपमा आउन आग्रह गर्नुभयो ।कार्यालय प्रमुख पूरा समय कार्यालयमा समेत नबस्ने गरेको कैदीबन्दीको आरोपलाई प्रमुख घिमिरेले स्वीकार गर्नुभयो ।


उद्धव पोखरेल