कारागार जीर्ण हुँदा कैदीबन्दीहरूलाई समस्या

डोटी जिल्ला कारागारको छाना चुहिन थालेपछि कैदीबन्दीहरू छानामा पलाष्टिक ओडेर बस्न बाध्य भएका छन् । राणाकालमा निर्माण गरिएको वर्षौँ पुरानो कारागार जीर्ण भएर चुहिन थालेपछि कैदीबन्दीहरू पलाष्टिक ओडेर रात बिताउन बाध्य भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीहरूलाई समस्या भएको बताए । 'भवन पुरानो छ । पानी पर्दा चुहिन्छ । कार्यालय मर्मतको लागि हामीले बजेट माग गरेका छौँ ।'-उनले भने ।

आर्थिक अभावले कारागार भवन मर्मत हुन नसक्दा जीर्ण बन्दै गएको र माग अनुसार विभागबाट बजेट नआउँदा कारागार मर्मत-सम्भार हुन नसकेको कारागार प्रमुख राजन केसीले बताए ।

कारागार भित्र पानी चुहिने र छानाका सिलेटहरू समेत खस्दै गएकाले आफूहरूले समस्या झेल्दै आउनु परेको कैदीबन्दीहरूले दुखेसो पोखे ।

कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी राख्दा आफूहरूलाई खानेपानीको समस्या हुनुको साथै चर्पी जाँदा समेत पालो कुर्नु पर्ने बाध्यता रहेको कैदीबन्दीहरूले बताए ।

४५ जना क्षमता रहेको कारागारमा हाल ४३ जना पुरूष र चार जना महिला कैदी गरी जम्मा ४७ जना कैदीबन्दीहरू रहेका छन् ।


बासुदेव जोशी