कारागार कैदी मृत्यु प्रकरणः घटनामा संलग्न रहेको आरोपमा प्रहरीसहित १५ जना गिरफ्तार

कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी सहित १५ जनालाई गिरफ्तार गरेर घटनाको अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।

जिल्ला कारागार सङ्खुवासभामा दुईजना कैदीको मृत्यु प्रकरणको अध्ययन गर्न इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाको नेतृत्वमा एक टोली साउन २६ गते सङ्खुवासभा पुगेको छ । सो टोलीमा इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारी, इन्सेकका सङ्खुवासभा प्रतिनिधि भविन कार्की र जिल्लास्थित अधिकारकर्मी सहभागी छन् ।

कारागारको सुरक्षाका लागि असईको नेतृत्वमा २० जना प्रहरी परिचालित थिए । घटनामा प्रहरीको संलग्नता देखिएपछि असई लक्ष्मी चौधरीसहित १० जनालाई गिरफ्तार गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कैदीको मृत्यु भएको घटनाको अनुसन्धानका लागि भनेर प्रहरीले कारागारका चौकीदार रामकुमार कार्की सहित नौ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उक्त घटना कारागारको ‘ए’ ब्लकमा भएको हो । सो ब्लकमा ६६ जना कैदीबन्दी थिए ।

जिल्ला कारागार खाँदबारीमा कुटपिटबाट दुई जना कैदीको मृत्यु भएको थियो । कुटपिटबाट कैदी सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु साउन २४ गते मृत्यु भएको पीडित पक्षको आरोप छ ।

कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै कैदी तोलाङ्गी र बलामीलाई साउन २४ गते बिहानको राति १ बजेतिर प्रहरीले नियन्त्रणमा लिएको थियो । कुटपिटमा कारागारको सुरक्षामा खटिएका प्रहरीको समेत प्रत्यक्ष संलग्नता देखिएको छ । कारागारमा रहेको सीसीटिभी फुटेज अध्ययनबाट प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको हो ।

फुटेज हेरेपछि कारागारको सुरक्षामा खटिएका १० जना प्रहरी सहित १५ जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डिएसपी गोदारले बताउनु भयो । घटनामा प्रहरीको समेत संम्लग्नता देखिएपछि कोशी प्रदेश प्रहरी कार्यालयले एसपी ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा इन्स्पेक्टर जितेश दाहाल, सई रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् । कोशी प्रदेश प्रहरीको छानबिन समितिले  साउन २५ गतेबाट काम सुरु गरिसकेको छ ।

घटनापछि जिल्ला सुरक्षा समिति सङ्खुवासभाले सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको नेतृत्वमा बुधबार तीन सदस्यीय छानबिन समिति बनाएको थियो । समितिका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सरोज खनाल र प्रशासन कार्यालयका सुब्बा तारणी घिमिरे सदस्य छन् ।  जिल्ला कारागारमा दुई कैदीको मृत्यु भएको आरोप लागेपछि गृह मन्त्रालयले समते छानबिन समिति गठन गरेको छ । गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका निर्देशक एवम् प्रवक्ता कमलप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका डिएसपी कौशलकुमार बुढाथोकी, राष्ट्रिय अनुसन्धानका डिएसपी कुमार बुढाथोकी, कारागार विभागका कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका प्रशासकीय अधिकृत सदस्य छन् । गृह मन्त्रालयको छानबिन टोली शुक्रबार १० बजे सङ्खुवासभा आइपुगेको हो । टोलीले आजबाट अनुसन्धान सुरु गरेको छ । अहिले सङ्खुवासभा कारागारमा आठ महिलासहित १ सय ३६ जना कैदीबन्दी छन् ।

सङ्खुवासभा घटनाको अध्ययन गर्न इन्सेक टोली सङ्खुवासभा जाँदै

कैदी शङ्कास्पद मृत्यु घटना : निश्पक्ष छानविन गरी दोषीलाई कारबाही गर्न माग

जिल्ला कारागार सङ्खुवासभाका कैदीद्वारा प्रहरीमाथि ढुङ्गामुढा, छानविनका लागि समिति गठन

जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु


भवीन कार्की