कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या

  ०७७ फागुन २९ गते

जिल्ला कारागार पर्वतमा १७ महिनादेखि स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा कैदीबन्दीलाई उपचारमा समस्या परेको छ ।

कारागारमा पाँचौ तहका स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि ०७६ साल असोज २८ गतेदेखि कुनैपनि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई समस्या भएको हो ।

२५ जना क्षमता रहेको पर्वत कारागारमा ०७७ फागुन २८ गतेसम्म ७७ कैदी र २० थुनुवा(बन्दी) गरी ९७ जना कैदीबन्दी रहेका छन् ।

कैदीबन्दीलाई सामान्य ज्वँरो, रुघा, खोकीको समस्या देखिएपछि अस्पताल लिएर धाउनुपर्ने अवस्था रहेको छ ।

‘यसै त क्षमता भन्दा चार गुणा कैदीबन्दीको सङ्ख्या छ, त्यसैमा पनि स्वास्थ्यकर्मी नहुँदा झनै समस्या छ ।’–कारागारमा कार्यरत निमित्त जेलर हरिकृष्ण शर्माले भन्नुभयो–‘स्वास्थ्यकर्मी नभएपछि कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको छ ।’

पर्वत कारागारमा पाँचौतह (हेल्थ असिस्टेण्ट)को स्वास्थ्य कर्मी असोज २८ गते सम्म रहेपनि कर्मचारी समायोजन प्रक्रियाका कारण सरुवा भएपछि हालसम्म स्वास्थ्यकर्मी आएका छैनन् ।

हाल कारागारमा रहेका कैदीबन्दीमध्ये कतिपय दैनिक स्वास्थ्य परीक्षण गरिरहनुपर्ने अवस्थाका दिर्घरोगीहरु रहेका र मौसमी रुघाखोकी तथा अन्य विभिन्न रोगको परीक्षणका लागि स्वास्थ्यकर्मी नहुँदा समस्या भएको जिल्ला कारागार पर्वतका चौकीदार खिलप्रसाद पौडेलले बताउनुभयो ।

नयाँ स्वास्थ्यकर्मीका रुपमा विभागबाट सिनियर अहेब पठाउने गरी पत्राचार भएपनि हालसम्म कुनै स्वास्थ्यकर्मी सम्पर्कमा नआएको निमित्त जेलर शर्माले बताउनुभयो ।