कारागारमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य चेकजाँचमा समस्या

  ०७७ माघ २१ गते

जिल्ला कारागारमा दरबन्दीको स्वास्थ्यकर्मी (अ‍ेहब) रिक्त हुँदा कैदीबन्दीको स्वास्थ्य चेकजाँचमा समस्या भएको छ ।

ज्वरो तथा टाउको दुखेमा वा स्वास्थ्य परामर्शका लागि समेत जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । एक जना अहेबको दरबन्दी भएपनि २०७७ साउनदेखि सो पद रिक्त छ ।

अहेब धनिराम सिंह ०७७ असारमा सरूवा भएर गएयता दरबन्दी रिक्त भएको कारागार प्रमुख कुलेन्द्र खवासले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

कारागार विभागमा समस्याबारे लिखित तथा मौखिक जानकारी गराएपनि समस्याको समाधान नभएको प्रमख खवासले बताउनुभयो ।

“लोकसेवा खुलेपछि पदपूर्ति हुन्छ भनेको छ । यदि लोकसेवा भएन भने पनि आगामी साउनदेखि व्यवस्थापन गर्छौ भन्ने आश्वासन छ ।” कारागार प्रमुख खवासले भन्नु भयो ।

कारागारका अनुसार दैनिक पाँच जनासम्मलाई नजिकको जिल्ला अस्पतालमा उपचारका लानुपर्ने हुन्छ । कारागारदेखि जिल्ला अस्पताल १० मिनेटको दुरीमा पर्छ ।

मानव अधिकारकर्मी खड्ग विक्रम सुवेदीले “बिरामी हुँदा पनि प्राय हिडाएरै लगेको पाइन्छ । मानवीय दृष्टिले पनि ठीक होइन् ।” २५ जनाको क्षमतामा हाल १ सय ४८  जना कैदी तथा थुनुवालाई राखिएको छ ।

नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३५ को उपधारा २ मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच हक हुने र कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।


देवराज गुरुङ