कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त, उपचारमा समस्या

  ०७६ साउन ११ गते

जिल्ला कारागारमा रहेका कैदी बन्दीहरूको उपचारका लागि भनेर तय गरिएको स्वास्थ्यकर्मीको दरबन्दी तीन वर्षदेखि रिक्त रहेको छ ।

स्वास्थ्यकर्मीको अभावमा कारागारका कैदीबन्दीको उपचार झन्झटिलो हुने र बाहिर लैजाँदा उपचारको बहानामा भाग्ने खतरा हुने कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीलाई सरकारले निःशुल्क उपचारको व्यवस्था गरेको भए पनि स्वास्थ्यकर्मी नहुँदा मेडिकलमा रकम खर्च गरेर उपचार गर्नु परेको उनीहरूको गुनासो रहेको छ ।

कैदीबन्दीको उपचारमा सहजता ल्याउनका लागि बझाङ कारागारमा सिनियर अहेब पदको दरबन्दी छ । यहाँ कार्यरत हेल्थ असिस्टेन्ट सेते नेपाली तीन वर्षअघि सरुवा भएर अन्यत्र गएपछि हालसम्म कोही पनि स्वास्थ्यकर्मी खटाइएको छैन ।

‘राज्यले निशुल्क उपचार गर्ने भनेको छ । तर, यहाँ स्वास्थ्यकर्मी नै छैनन् ।’–बन्दी सिद्दु खड्काले भने–‘बिरामी पर्दा पनि मेडिकलमा गएर उपचार गराउनु पर्छ ।’

कारागार प्रशासनले भने धेरै जसो जिल्ला अस्पताल र अन्य स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर कारागारमै उपचारको प्रबन्ध मिलाउने गरेको भए पनि सबै अवस्थामा यो सम्मभव नहुने गरेको जनाएको छ ।

‘कहिले कता कहिले कताबाट बोलाएर उपचार गराउने गरेका छौं ।’–जेलर राजेन्द्र बोहराले भने–‘भनेको बेला स्वास्थ्यकर्मी आउँदैनन् । जोखिम उठाएर भए पनि बाहिर लगेर उपचार गर्नु परिरहेको छ ।’

उनले स्वास्थ्यकर्मीको अभावका कारण विभिन्न समस्या हुने गरेकाले छिटो पठाइदिनका लागि सम्बन्धित निकायमा जानकारी गराएको भए पनि सुनुवाइ नभएको बताए । उनले भने–‘धेरै पटक पत्राचार गरिसकेका छौँ । मौखिक रूपमा पनि समस्या राखेका छौँ । तर, स्वास्थ्यकर्मी पठाउने काम भएको छैन ।’

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर सन्दिप ओखेडाले भने कारागारमा स्वास्थ्यकर्मी पठाउने काम विभागको भएको बताउँदै आफूहरूले बेलाबेला चेकजाँच र उपचारमा सहयोग गरिरहेको बताए ।

उनले सानोसानो उपचारका लागि दैनिक जसो कैदीबन्दीलाई जिल्ला अस्पताल र बजारका मेडिकलमा ल्याउनु राम्रो नहुने बताउँदै कारागारमा नै स्वास्थ्यकर्मी आवश्यक हुने बताए ।

४६ जना कैदीबन्दीको क्षमता रहेको (ङ) श्रेणीको जिल्ला कारागार बझाङमा अहिले ५५ जना कैदीबन्दी रहेका छन् ।


रमेश केसी