कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरूको स्वास्थ्य उपचारमा समस्या !

  ०८१ कात्तिक २७ गते

कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको जाँच उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत एक जना स्वास्थ्यकर्मी पाँच वर्ष अगाडि अध्ययन बिदामा गएपछि अर्काे स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा कैदीबन्दीहरू नियमित स्वास्थ्य जाँच उपचारको सेवा पाउनबाट वञ्चित भएका हुन् ।

अर्घाखाँची कारागारमा स्वास्थ्यकर्मी एक जना अहेबको दरबन्दी कायम भएको तर सो पदमा सङ्घबाट कर्मचारी समायोजन प्रक्रियामा कारागारमा पदस्थापन हुनु भएका कर्मचारी जिल्ला जनस्वास्थ्य कार्यालयमा पाँच वर्ष अगाडिदेखि कार्यरत भएकोले कारागारमा स्वास्थ्यकर्मीको पद रिक्त हुँदा कैदीबन्दीहरू नियमित स्वास्थ्य जाँच उपचारको सेवा पाउन नसकेको कारागारका प्रमुख पोमकला भण्डारीले बताउनु भयो । उहाँले भन्नुभयो - ‘कारागारमा स्वास्थ्यकर्मी नहुँदा सामान्य जाँच उपचारका लागि पनि कैदीबन्दीलाई अघाखाँची अस्पतालमा लैजान पर्ने बाध्यता छ ।'

चिसो मौसम बढ्दै गएको छ । सामान्य रुघा खोकी लगायत अन्य स्वास्थ्य समस्या देखा पर्न थालेका छन् । सामान्य स्वास्थ्य समस्याको जाँच उपचार अर्घाखाँची जिल्ला अस्पतालमा हुने र जटिल खालका स्वास्थ्य समस्या देखा परेमा प्रादेशिक अस्पताल, बुटवल र केन्द्रीय कारागार अस्पताल, काठमाडौँमा समेत पठाउन सकिने भण्डारीले बताउनु भयो ।

अर्घाखाँची कारागार (ङ) श्रेणीको पुरानो भवन २५ जनाको क्षमता र नयाँ भवन १ सय जनाको क्षमता भएको कारागारमा हाल ९१ जना रहेका छन् । जसमध्ये ६ जना महिला र ८५ जना पुरुष रहेका छन् ।

कारागारका नाइके गणेश भुसाल भन्नुहुन्छ - 'कारागारभित्र सामूहिक रूपमा सञ्चालन गरिएको मेसमा खाना खान्छौँ । स्वास्थ्यको ख्याल गर्दा गर्दै पनि धेरै जना एकै ठाउँ कारागारको पर्खालभित्र बस्दा कहिले काहीँ स्वास्थ्यका समस्या आइरहन्छन् । कुनै दिन त १० जना कैदीबन्दी बिरामी परेर अस्पताल पठाउनु पर्ने बाध्यता हुन्छ ।'

कारागार कार्यालयको हाल आफ्नै सवारी साधन भए पनि धेरै जना बिरामी हुँदा कैदीबन्दीहरूको स्वास्थ्य चेक जाँच उपचारका लागि अर्घाखाँची अस्पतालमा सुरक्षा व्यवस्था र समय मिलाएर लैजान पर्ने र अस्पतालमा बिरामीको चाप बढी भए पालो कुर्नु पर्ने कठिनाइ भएको भण्डारीले बताउनु भयो ।

कारागार र कैदीबन्दीको स्वास्थ्यको सवालमा कुरा गर्दा प्रत्येक वर्ष स्वास्थ्यकर्मीको दरबन्दीको कुरा उठेकै छ । कैदीबन्दीको स्वास्थ्य समस्या सम्बन्धित निकायलाई जानकारी छ । अब कारागारमा स्वास्थ्यकर्मी रिक्त रहेको दरबन्दी कार्यरत गराउन पहल गर्ने प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख डा. जगनाथ तिवारीले कारागारमा सङ्घले तोकेको स्वास्थ्यकर्मी पाँच वर्षभन्दा बढी भएको र हाजिर हुन नगएको उल्लेख गर्नुभयो । अर्काे स्वास्थ्यकर्मी आउने बाटो पनि खुलेको छैन । अहिले पनि कारागारमा सयौँको सङ्ख्यामा कैदीबन्दी छन् । कारागारमा नियमित स्वास्थ्य जाँच उपचारका लागि एक जना भए पनि स्वास्थ्यकर्मीको आवश्यकता खड्किएको छ । आफूहरूले अस्पतालबाट दिन सकिने निःशुल्क सेवा सुबिधा कारागारबाट आउने बिरामीलाई सहज रूपमा उपलब्ध गराएको प्रमुख डा. तिवारीको भनाइ छ । उहाँले भन्नुभयो - 'कारागारमा एउटा स्वास्थ्यकर्मीको दरबन्दी पाँच वर्षसम्म रिक्त हुँदा हुने समस्या सम्बन्धित निकायले जान्ने कुरा हो ।'


कुलबहादुर नेपाली