कारागारमा शौचालय र बिजुलीको समस्या

  ०७९ असोज १४ गते

कारागारमा कम क्षमताको सेप्टी ट्याङ्की भएको कारण जुम्ला कारागारका कैदीबन्दीलाई शौचालय प्रयोगमा समस्या हुने गरेको छ । कारागारमा महिलातर्फ एक र पुरुषतर्फ दुई ओटा मात्र शौचालय रहेका छन् । शौचालय पनि प्रयाप्त नभएको कारागारका कैदी अनिल कुमार विकले गुनासो गर्नु भएको छ ।

महिला ८० जना र पुरुष १ सय २० जना गरी जुम्ला कारागारको क्षमता २ सय जना रहेको छ । कारागारको क्षमता भन्दा हाल कम कैदीबन्दी रहेका छन् । तीन जना महिलासहित १ सय ८ जना कैदीबन्दी रहेका छन् ।

गाँस, बाँस र कपास सँगसँगै शौचालयको आवश्यकता मानिसलाई पर्ने गर्दछ । जुम्ला कारागारमा शौचालय नभएको त होइन । खाना खाएपछि शौचालय जानु पर्छ । तर कम क्षमता भएको शौचालयले कैदीबन्दीलाई खाना खानु भन्दा पहिला शौचालय कहाँ जाने के गर्ने भन्ने चिन्ताले पिरोल्दै आएको छ ।

१ सय ८ जना कैदीबन्दीले दिसापिसाव गर्दा हप्ता दिनमै शौचालयको सेप्टीट्यांकी भरिन्छ । कैदी अनिल कुमार विकले भन्नु भयो “शौचालय जाने दुख्खले कम खाना खानुपर्ने अवस्था छ ।” सेप्टीट्यांकी छिट्टै भरिने भएकाले हप्ता हप्ता दिनमै सफा गर्ने गरिएको कैदीबन्दीले बताएका छन् ।

यस्तै कारागारमा बिजुलीको पनि समस्या रहेको छ । जुम्ला राष्ट्रिय प्रशारण लाइनमा जोडिए पनि नियमित बिजुली आपूर्ति हुने गरेको छैन । धेरै पुराना म्याद गुज्रिएका सोलार सिस्टम छन् । कम उज्यालो र छोटो समय मात्रै उज्यालो दिने गरेका छन् । आकाशमा बादल र पानी परेको दिनमा सोलारबाट बिजुली नै नबल्ने कैदीबन्दीले गुनासो गरेका छन् । बेला बेलामा अध्यारोमा बस्नुपर्ने अवस्था रहेको कैदीबन्दी बताउँछन् ।

कारागारमा शौचालय र बिजुलीको समस्या रहेको जेलर विष्णुबहादुर महतले बताउनु भयो । कारागारमा महिला र पुरुष गरी दुई सय जनाको क्षमता भएपनि शौचालयको सेप्टीट्याङ्की कम क्षमताको रहेछ । उहाँले भन्नुभयो हप्ता दिनमै सेप्टिट्यांकी भरिने गरेको छ । यस्तो समस्या बारम्बार आउन थालेपछि केही समयअघि कारागार कम्पाउण्ड बाहिर सेप्टिट्याङ्की बनाएर काम चलायौँ । यो समस्या समाधान ६ महिनासम्म मात्रै भयो । अहिले पुन ः उस्तै समस्या हुने गरेको छ । हप्ता दिनमा सेप्टिट्यांकीको दिसाजन्य लेदो बाहिर निकालेर काम चलाउनु परेको छ । यस विषयमा सरोकारवाला निकायसँग समस्या समाधानका लागि पहल भएको छ ।

तत्कालीन नेकपा माओवादीले ०५९ कात्तिक २८ गते जुम्लाको सदरमुकाम आक्रमण गर्दा कारागार ध्वस्त भएको थियो । यो कारागार करिव पाँच वर्ष अघि मात्रै पुननिर्माण गरी प्रयोगमा ल्याएको कारागार जुम्लाले जनाएको छ ।
Photojumla20220930 (1) Photojumla20220930 (2)


मानदत्त रावल