कारागारमा मुढा बनाउने सीप, कैद भुक्तानसँगै आर्थिक उपार्जन

हातमा बाँसका कप्टेरा र खुकुरी । कहिले बाँसका सुइरा खुर्किरहेका रहेको भेटिनु हुन्छ त, कहिले मुढा बुन्दै त कहिले आफूजस्तै कारागार सजाय भुक्तान गरिरहेकालाई सिकाउँदै पनि ।

जिल्ला कारागार धनकुटामा सहिदभूमि गाउँपालिका–४ का ३८ वर्षीय विपिन राई इन्सेकले कारागारमा गरेको अनुगमनका क्रममा अधिकतम समय मुढा बुन्दै गरेको अवस्थामा भेटिनु भएको छ ।

कैद भुक्तान गर्न कारागार आएदेखि उहाँ सीपयुक्त भएर घर फर्कने तयारीमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘म आउँदा कारागार केही हुन्न थियो, अहिले मुढाहरू बनाउने उद्योग जस्तै भएको छ, जिल्ला कारागार ।

परिवारका सदस्य भेट्न आउँदा केही हजार घरखर्च दिने गरेको विपिन राईको भनाइ छ  । बलात्कार कसुरमा ०७५ सालमा जिल्ला कारागारमा कैद भुक्तान गर्न आएदेखि मुढा बन्ने सीप सिकेर मासिक ५ देखि ७ हजार आम्दानी गर्ने गरेको राईले बताउनु भयो । कारागारका कैदीबन्दीहरू मध्ये उहाँले मुढा बुनेर सबैभन्दा बढी आम्दानी गर्ने गर्नुभएको छ । उहाँले कैद भुक्तानसँगसँगै परिवारको गुजारा पनि कारागारबाट गर्दै आएको बताउनु भयो । राईले कैद भुक्तान गरेपछि पनि मुढा बुन्ने उद्योग खोलेर अगामी दिनहरू बिताउने योजना रहेको बताउनु भयो ।

जिल्ला कारागार अहिले ९७ जना पुरूष र ६ जना कैदीबन्दीहरू छन । ती मध्ये पुरुषतर्फ ७५ जना कैदी र २२ जना थुनुवा रहेका छन् । महिला तर्फ पाँच जना कैदी र एक जना थुनुवा छन् ।

पुरूषतर्फ २५ जनाको क्षमता रहेको जीर्ण अवस्थामा रहेको भवनबाट ०८० माघ ३ गते नयाँ भवनमा कैदीबन्दी सारिएको कारागारका निमित्त प्रमुख हेमराज भण्डारीले बताउनु भयो ।  कारागारमा रहेका १ सय ३ कैदीबन्दी मध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आय आर्जन गरिरहेका छन् । पछिल्लो समय कैदी बन्दीहरूको मेहेनत र कार्यालयको प्रशासनको व्यावस्थापनको कारण घरेलु उद्योगका सामान तथा तालिम र आर्थिक सहयोग पनि विभिन्न संस्थाहरुले गरिरहेका छन् ।

धेरै जनाले सहज रुपमा अनुमान गर्छन, कारागार नराम्रो गर्नेहरु सुधार्ने वा बस्ने थलो हो । हो, यहाँको कारागारमा त्यही भएको छ । कारागारमा आएका कैदीबन्दीले केही न केही गरिरहेका छन् ।

कारगार राईको लागि मात्रै होइन जिल्लाकै धनकुटा नगरपालिका वडा नं. ६ का मदन अधिकारीलाई पनि जीवन भोगाइसँगै जीवन सुधार्ने राम्रो माध्यम बनेको छ । ‘पहिले भित्र समय बिताउन मुस्किल हुन्थ्यो ।’ मुढा बुन्ने काम गर्दै आएका अधिकारीले भने – ‘अहिले दिन काट्न धेरै सजिलो भएको छ ।’ उनीहरुले अहिले कृषि तथा अन्य उद्योगमा काम गरेर मासिक ४ हजार भन्दा बढी आम्दानी गर्ने गरेका छन । उनीहरुको सोचाइ छ, कैद मुक्त भएपछि उद्योग खोल्ने र जिविकोपार्जन गर्ने । त्यस्तै कारागारभित्रै बाँसको मुढा बनाउने महालक्ष्मी नगरपालिका वडा नं. २ मोहन कटुवाल अहिले सबैभन्दा धेरै मुढा बुन्नेमा चिनिनु हुन्छ । उहाँले मासिक ७ हजार भन्दा बढी कमाउने गरेको बताउनु भयो । कमाइसँगै मानसिक तनाव पनि कम भएको उहाँको भनाइ छ ।

कोही मुढा बुनिरहेका, केही ढाकाको सल बुन्दैमा मस्त, महिला कैदी बन्दीहरु हस्तकलाका सामग्रीहरू बनाउँदै गरेको जिल्ला कारागारको यो मनमोहक दृश्य निकै रोचक लाग्छ । कैदलाई मेहनतसँग साटेका उनीहरुलाई भेट्न आएका आफन्तलाई समय दिने फुर्सदसमेत छैन । जिल्ला कारगार धनकुटा भित्र बुनेका मुढा तथा ढाकाका सल जिल्लामै सबैभन्दा राम्रो र बलियो मानिन्छ । उत्पादित मुढा तथा ढाकाका सलहरु जिल्लाको सदरमुकाम लगायत जिल्लामा मात्र प्रयोग नभएर बाहिरसमेत जाने गरेको जिल्ला कारागार धनकुटाका निमित्त प्रमुख भण्डारीले जानकारी दिनुभयो । कैदीबन्दीहरुले आफै लगानी गरेर उद्योग सञ्चालन गरेकाले राज्यले नै उद्योग खोलेर काममा लगाउन सके खेर गइरहेको श्रमबाट लाखौं रुपियाँ आम्दानी गर्न सक्ने भण्डारीको भनाइ छ ।


ईश्वर थापा