कारागारमा बन्दी वृद्धिसँगै बिमारीको चाप पनि बढ्यो

जिल्ला कारागार नवलपरासीमा १ सय ३० जना बन्दी क्षमता रहेकोमा हाल ३ सय ६२ जना बन्दी राखेपछि कारागारमा बिरामी हुनेको सङ्ख्यामा पनि वृद्धि भएको कारागार प्रशासनले जनाएको छ ।

गर्मी बढेसँगै दैनिकजसो ७ देखि ९ जना बिरामी हुने गरेको कारागारमा कार्यरत डा. दिपक अधिकारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिएका छन् । कारागारमा १ सय ६८ कैदी र १ सय ४० बन्दी गरी ३ सय ८ जना पुरूष तथा ३१ कैदी र २३ बन्दी गरी ५४ जना महिला रहेका छन् ।

जिल्ला कारागारमा ४ जना आश्रति बालबालिका रहेका छन् । गर्मीका कारण भाइरल ज्वरो, रुघाखोकी, दाद, खटिरा र दमका बिमारी बढेको डा. अधिकारीले बताएका छन् ।

गम्भीर प्रकृतिका बिरामीलाई जिल्ला अस्पतालमा 'रिफर' गर्ने गरिएको र सामान्य बिरामीलाई भने कारागारमै उपचार सेवा दिइएको जिल्ला कारागार नवलपरासीले जनाएको छ । कारागार प्रशासनले साउन ३ गते इन्सेकको सहभागितामा बिरामीहरूलाई औषधिसमेत वितरण गरेको छ ।


नारायण पराजुली