कारागारमा निर्मित वस्तुहरूले बजार पाएन

  ०७४ पुस १५ गते

खाँदबारी कारागारका कैदीबन्दीहरूले उत्पादन गरेको सामानहरूले बजार नपाएपछि विक्री गर्न सकेका छैनन् । कारागारभित्र प्रशस्त मात्रामा सामानहरू उत्पादन गरिए पनि बजारमा विक्री नभएपछि सामानहरू थुप्रिएका छन् ।

Photo20171230Sankhusabha

कारागारभित्र ३५ जना कैदीबन्दीले मुडा, टोपी, घरेलु साडी, जाल, नाम्लोलगायतका सामानहरू उत्पादन गर्छन् । तर, उत्पादित वस्तुहरू कारागारको ढोका बाहेक अन्यत्र लगेर विक्री गर्न सकेका छैनन् । उत्पादित सामानहरू एक जनाले सङ्कलन गरेर गेटबाट नै विक्री गर्नको लागि राख्दै आएका छन् । तर, ठुलो मात्रामा उत्पादन गरिएका सामान गेटबाटै विक्री गरिसक्ने सम्भावना नरहेको सङ्कलक बुद्धिमान नेपाली बताए ।

सङ्कलन गरेका सामानहरू बापत उत्पादकहरूलाई ठुलो रकम दिनु पर्ने तर विक्री भने थोरै हुने नेपालीले दुखेसो पोखे । उत्पादन गरिएको सामग्रीहरू विक्री गर्न नसक्दा थुपारेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाई छ । 'उत्पादकहरूलाई सामानको पैसा दिनै पर्‍यो, बेचेर साध्य छैन, बाहिरबाट पैसा मगाएर उत्पादकहरूलाई दिँदैछु ।'-सामग्री सङ्कलक नेपालीले भने ।

कारागारमा उत्पादन गरिएको सामानहरू कोही व्यापारीले लगेर बोचिदिए राम्रो मुल्य पाउने कारागारका सामान उत्पादकहरू पनि बताउँछन् । कुनै व्यक्ति तथा सङ्घसंस्थाले उत्पादित सामानहरू लगेर बेचिदिए उनीहरू र आफूहरूलाई पनि राम्रो हुने ढाका उत्पादक शुक्र तामाङ बताउँछन् । कोही कसैले सामान बजारमा लगेर बेचिदिए राम्रो हुने उनको पनि भनाई छ ।

कारागारको क्षमता बढाएसँगै फराकिलो ठाउँ भएपछि उत्पादनको परिमाण पनि बढेको कारागारका जेलर विनोद अधिकारीले बताए । यस भन्दा अघि स्थानीय व्यापारीहरूसँग कुरा गरेर केही सामानहरू विक्री गर्न पठाइएको बताउँदै अब थप के गर्न सकिन्छ सो को बारेमा पहल गर्ने अधिकारीको भनाई छ ।

कोही व्यापारिहरूले नै कारागारबाटै सङ्कलन गरेर लगे अझ उत्पादन बढ्न सक्ने समेत अधिकारीले बताए । 'खासै विक्री हुँदैन भन्दै कैदीबन्दीहरूले उत्पादनमा कम चासो दिएका छन् । विक्री हुने निश्चित भए उत्पादन बढ्छ ।'-अधिकारीले भने ।

खाँदबारी कारागारमा अहिले ७ जना महिला र ९७ जना पुरूष गरी १ सय ४ जना कैदीबन्दीहरू छन् । उनीहरू मध्ये अधिकांश केही न केही उत्पादनमुलक कार्यमा व्यस्त छन् भने कोही सिक्ने क्रममा छन् । सुधार गृहको रूपमा लिइएको कारागारमा उत्पादन गरिएको सामग्रीहरूलाई उचित बजार व्यवस्थापन गर्न सके राम्रो अर्थोपाजन हुन सक्ने देखिएको छ ।


बाबुराम बास्तोला