कारागारमा खानेपानीको समस्याले कैदीबन्दीलाई सास्ती

  ०७७ माघ १५ गते

जिल्ला कारागारका कैदीबन्दीहरूले भेरी नदिको पानी पिउनु पर्ने बाध्यता भएको छ । कारागारका कैदीबन्दी सुरक्षाकर्मी लगायत कर्मचारीहरूले भेरी नदिबाट बोकेर ल्याएको पानीले गुजरा चलाउनु परिरहेको कैदीबन्दीका नाइके धावा थापाले बताउनु भयो ।

कारागारमा १८ जना कैदी, १६ जना थुनुवा गरि ३४ जना कैदीबन्दी, ४ जना कर्मचारी र १६ जना सुरक्षाकर्मी गरि ५४ जना रहेका छन । बोकेर ल्याएको पानीले पकाउन र पिउन सहज भएपनि नुहाउन, लुगा धुन र शौचालय प्रयोगको लागि समस्या पर्ने गरेको जेलर देवराज गिरीले बताउनु भयो ।

वर्षातको समयमा नदिको धमिलो पानीले झाडापखला, टाइफाइट जस्ता रोगले सताउने पनि जेलर गिरीको भनाई छ । नजिकै बोर्डिङ स्कुलसम्म आएको खाने पानीको पाइप कारागार पुर्‍याउनको लागि बीचमा अग्लो चट्टानले बाधा पुर्‍याइरहेकोले खानेपानी व्यवस्थापन समितिले पानी दिन आनाकानी गरिरहेको कारागार प्रशासनको भनाई छ ।

बजारबाट भेरी नदिको झोलुङ्गे पुलहुँदै पाइप ल्याएर पानीको व्यवस्थापन नहुँदा जेनेरेटरबाट पानी तानेर समस्या समाधान गर्नु परेको जेलेर गिरीले बताउनु भयो ।

‘पुरानो कारागार भवनमा हुँदा सम्म खानेपानीको समस्या थिएन तर नवनिर्मित १४ कोठे भवनमा सरिसकेपछि झण्डै १८ महिना देखि खानेपानीको समस्या झेल्दै आउनु परेको छ’ जेलर गिरीले दुःखेसो पोख्नुभयो । २५ महिला र ७५ पुरूष गरि एक सय जनाको क्षमता भएको नयाँ बनेको भवनमा खानेपानीको व्यवस्था नहुँदा समस्या भएको हो ।

भवन निर्माणसँगै बजारबाट पाइप जडान गरि पानीको व्यवस्थापन समेतको जिम्मेवारी पाएका निर्माण व्यवसायी झपेन्द्र मल्लले भवन निर्माण सम्पन्न गरि रकम अभाव भएको भन्दै खानेपानीको काम नगरेको ठूलीभेरी नगरपालिका– ३ का अध्यक्ष अर्णबहादुर न्यौपानेको आरोप छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले कारागारमा पानीको समस्या भएको र समस्या समाधानको लागि दुनै खानेपानी व्यवस्थापन समिति र खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयलाई पत्राचार गरिसकिएको बताउनु भयो ।

खानेपानी सिचाई तथा उर्जा विकास कार्यालयका प्रमुख नविन थापाले जिल्ला प्रशासनबाट पत्र प्राप्त भएको बताउँदै दुनै खानेपानी व्यवस्थापन समितिलाई तत्काल कारागारमा पानी जडान गर्न ताकेता गरिएको जानकारी दिनुभयो ।


विष्णुप्रसाद देवकोटा