कारागारमा कैदीबन्दी क्षमताभन्दा बढी, व्यवस्थापनमा समस्या
देशका विभिन्न कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण व्यवस्थापनमा समस्या भएको खबर इन्सेक जिल्ला प्रतिनिधिहरूले पठाएका छन् ।
इन्सेक डोटी जिल्ला प्रतिनिधि दीर्घ खत्रीका अनुसार राणाकालमा स्थापना गरिएको डोटी जिल्ला कारागार जीर्ण बन्दै आएपछि कैदीबन्दीहरूलाई समस्या भएको छ । निकै पुरानो भएकाले जेलमा व्यवस्थापनको पक्ष अत्यन्तै जटिल भएको जेलर यज्ञराज पाठकले बताए ।
पाठकका अनुसार १२ आना जग्गामा निर्माण भएको २५ जना क्षमताको कारागार भवनमा ३६ जना कैदीबन्दीहरू आफू र सुरक्षाकर्मीहरू समेत यसैमा अटाउनु पर्दा ज्यादै नै समस्या भएको छ । यसरी क्षमता भन्दा बढी कैदीबन्दीहरू बस्नु पर्दा ठूलै सकस व्यहोर्नु परेको चौकीदार दिपेन्द्र जेठाराले बताए । 'पानी परेका बखत पानी चुहिएकाले र पाल ओढेर सुत्नु पर्दछ ।'-उनले भने ।
हाल डोटी कारागारमा ३२ जना कैदीबन्दी, तीन जना थुनुवा र एक जना नाबालक गरी जम्मा ३६ जना रहेका छन् ।
इन्सेक कञ्चनपुर जिल्ला प्रतिनिधि कोमल निरञ्जन भाटका अनुसार कञ्चनपुर कारागारमा क्षमताभन्दा तेव्बर कैदीबन्दी भएका कारण कैदीबन्दीहरू ग्यालरी र बाहिर त्रिपालमा सुत्न बाध्य भएका छन् ।
७५ जना पुरुष र २० जना महिला गरी ९५ जनाको क्षमता भएको जिल्ला कारागारमा १ सय ८४ जना कैदी र ७० जना थुनुवा गरी जम्मा २ सय ५४ जना कैदीबन्दी रहेका छन् । जसमा १३ जना महिला र दुई जना आश्रति बालक पनि रहेका छन ।
जाडो मौसममा कैदीबन्दीहरू ग्यालरी र त्रिपालमा सुतेका कारण रुघाखोकी, निमोनिया जस्ता रोगबाट पीडित भइरहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी भएका कारण कारागारमा खानेपानी, औषधि, शौचालयलगायतको समस्या भएको कारागारका जेलर श्यामराज भट्टले बताए ।
२०२३ सालमा बनेको यो कारागारमा दुई ओटा भवन रहेका छन् जस मध्ये एउटा भवन पुरानो र जीर्ण अवस्थामा रहेको छ ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार जिल्ला कारागार रुपन्देहीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । सन् १९९० सालमा स्थापना गरिएको कारागारको अवस्था जीर्ण भए पनि सरकारले यो विषयमा कुनै चासो नदिएको कैदी बन्दीले गुनासो गरेका छन् ।
कारागारको अवस्था र कैदी बन्दीहरूको अवस्थाको विषयमा इन्सेक रुपन्देही र राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको संयुक्त टोलीले पुस २१ गते गरेको अनुगमनका क्रममा सङ्ख्या धेरै हुँदा असहज भएको गुनासो गरे ।
'ख' वर्गको कारागारको क्षमता १ सय भएपनि हाल कैदी २ सय २ जना र थुनुवा २ सय ६ जना गरी जम्मा ४ सय ८ जना कैदीबन्दी रहेका छन् ।
अनुगमनका क्रममा क्षमता भन्दा बढी कैदी थुनुवा राखेकोले विभिन्न खालका कष्ट व्यहोर्नु परेको र सँगै बस्नुपर्दा विभिन्न खालका पसिना जन्य रोग र छालासम्बन्धी रोगहरूको सङ्क्रमण बढ्दै गएको कारणले समस्या उत्पन्न भएको कारागारमा जेलर टेकप्रसाद देवकोटाले बताए ।
कारागारको क्षमताभन्दा बढी कैदी बन्दीहरू हुँदा कोठामा सुत्न बस्नसमेत कठीन भएको र पालो कुरेर सुत्नु पर्ने बाध्यता भएको कैदीबन्दी जीवन बिताइरहेका ऋषिराम घिमिरेले बताए । उनले कारागार जीर्ण रहेको हुँदा वर्षायाममा पनि पानी चुहिएर बस्नै नसकिने स्थितिमा रहेको बताए ।
अनुगमनका क्रममा सरकारले ७० प्रकारका औषधि निशुल्क दिने व्यवस्था गरेको भने पनि कैदी र थुनुवा सात प्रकारका औषधिको पहुँचमा पनि नभएको बताए । उपचारका लागि सरकारी अस्पतालमा लगेपनि आफुहरूलाई त्यति वास्ता नगर्ने र भरसक महङ्गो अस्पतालमा 'रिफर' गर्ने गरेको बताए ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलका मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाईंले सम्बन्धित निकायमा कैदीबन्दीका समस्यालाई पुर्याउने र मानव अधिकारको पूर्ण प्रत्याभूति गराउनका लागि आयोगको लक्ष्य अनुरुप सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताए ।
यसैगरी इन्सेक रुपन्देहीले राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलको सहकार्यमा रुपन्देही जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई मानव अधिकारसँग सम्बन्धित विभिन्न किसिमका पुस्तकहरू प्रदान गरिएको छ ।
जेलर टेकप्रसाद देवकोटाले कैदीबन्दीहरूलाई जीवन उपयोगी, कानुनी सचेतना र सकारात्मक सोचसम्बन्धी तालिमहरूको वातावरण बनाई प्रदान गरिदिन इन्सेकलाई आग्रह गरेका थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…