कारागारमा आश्रति बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव

जिल्ला कारागार कार्यालय परासीमा रहेका बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव रहेको छ ।

१ सय ३० जनाको क्षमता भएको कारागारमा ३ सय २१ जना पुरूष र ६१ जना महिला गरी ३ सय ८२ कैदीबन्दी तथा आठ आश्रति बालबालिका रहेका छन् ।

क्षमता भन्दा बढी कैदीबन्दी हुँदा आश्रति बालबालिकाको सङ्ख्यामा पनि बृद्धि भएको कारागार प्रशासनले जनाएको छ ।

आश्रति बालबालिकामध्ये तीन जना ६ महिनाभन्दा कम उमेरका र पाँच जना विद्यालय जाने उमेरका छन् ।

विद्यालय जाने उमेरका बालबालिकाको पठनपाठन व्यवस्था मिलाउन नसक्दा उनीहरू शिक्षाबाट वञ्चित हुनुपरेको निमित्त जेलर पप्पु यादव बताउँछन् ।

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बालबालिकाकै दैनिकी कठिन भएर बितिरहेको र उनीहरूको स्याहार सुसार र पौष्टिक आहारको अभाव समेत भएको यादवले बताएका छन् ।


नारायण पराजुली