कारागारको शौचालयमा एक जना बन्दी मृत फेला

  ०८० माघ २८ गते

बलात्कारको आरोपमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका हनुमाननगर कंकालिनी नगरपालिका–६ का १९ वर्षीय देबेन्द्र मण्डल माघ २८ गते मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मण्डलको शव कारागारभित्र शौचालयमा झुण्डिएको अवस्थामा माघ २८ गते विहान फेला परेको राजविराज कारागारले जनाएको छ ।

१५ वर्षीया बालिकालाई २०८० साउन १३ गते राति अपहरण गरी बलात्कार गरेको आरोपमा मण्डल भदौ ११ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा रहेको कारागार प्रशासनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले साउन १७ गते गिरफ्तार गरी साउन १८ गते बलात्कारको उजुरी दर्ता गरेको थियो । जिल्ला अदालतमा भदौ १० गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले भदौ ११ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । फैसला हुन बाँकी रहेको थियो ।

पासोमा झुण्डिएर आत्महत्या गरेका मण्डलको परिवारलाई घटना थाहा पाएलगत्तै कारागारले जानकारी दिएको र परिवारका सदस्यहरु आएपछि शवको मुचुल्का गरिने निमित्त कारागार प्रशासक सदानन्द दासले फोनमार्फत इन्सेक सप्तरी प्रतिनिधिलाई बताउनु भयो ।


मनोहरकुमार पोखरेल