कारागारको उचित व्यवस्थापन नहुँदा कैदीबन्दी समस्यामा

  ०८० असोज ११ गते

जिल्ला कारागार, कैलालीको उचित व्यवस्थापन नहँुदा कैदीबन्दीहरु समस्यामा परेका छन् । कारागारको भौतिक संचरना, जिर्ण भवन, खानेपानी, शौचालय, ढल निकास र फोहर व्यस्थापन नहुँदा जिल्ला कारागार, कैलालीमा राखिएका कैदीबन्दीहरुले समस्या भोग्नु परेको हो ।

१९९७ सालमा स्थापना भएको जिल्ला कारागार,कैलालीको क्षमता २५ जना महिला सहित १ सय ५० जना रहेको भए पनि हाल ४७ जना महिला र तीन बालबालिका सहित ६ सय ८३ जनालाई राखिएको छ ।

क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी राखिएको कारण कारागार व्यवस्थापन गर्न समस्या भएको र कैदीबन्दीहरुका आधारभूत अधिकारको समेत पुर्ति गर्न समस्या भएको जिल्ला कारागार, कैलालीका जेलर पदमराज तिमिल्सेनाले बताउनु भयो ।

ऐन कानुनमा व्यवस्था भए अनुसार राज्यले बजेट व्यवस्थापन गर्न नसकेको कारण स्वास्थ्य, पोषण, आचरण सुधारका गतिविधिहरु तथा मनोरञ्जन, खेलकुद लगायत कारागार व्यवस्थापन गर्न कर्मचारीहरुले समेत समस्या भोग्नु परेको उहाँले बताउनु भयो ।

कारागारका सई रमेश शाहीले कारागार भित्रका कैदीबन्दी, ज्येष्ठ नागरिक, नाबालक, बिरामी, दिर्घरोगी र अपाङ्गता भएका व्यक्तिहहरुलाई छुट्टाछुट्टै राखनु पर्ने हो तर भौतिक संरचनाको अभावमा बिभिन्न अपराधिक मानसिकता भएका र नभएका कैदीबन्दी सबैलाई एउटै कोठामा कोचिएर राख्नु पर्ने बाध्यता रहेकाले सुरक्षामा चुनौती रहेको बताउनु भयो ।

कारागारका चौकीदार ऐकेन्द्र शाहीले मेसमा सामान्य खाना खानु पर्ने, एउटै कोठामा कोचिएर बस्नु पर्ने, पालैपालो सुत्नु पर्ने, शौचालय जान पालो कुर्नु पर्ने, सरसफाई गर्न, खानेपानी, फोहर व्यवस्थापन र ढल निकास नहुँदा कैदीबन्दीहरु दुर्गन्धीत वातावरणमा बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो ।

महिला नाइके कल्पना सिंहले आमासँगै कारागारमा रहेका तीन जना नाबालकलाई राज्यले पोषण, शिक्षा, स्वास्थ्यको सेवासुविधा नदिदा निर्दोष बालबालिकाहरुको सर्वङ्र्गिण विकासमा समस्या उत्पन्न भएका बताउनु भयो ।

राणाकालिन समयमा निर्माण गरिएको जिल्ला कारागार, कैलालीको भवन जिर्ण अवस्थामा रहेको र वर्षातको समयमा छतहरु चुहिने गरेका कारण कैन्दीबन्दीहरुले थप सास्ती खेप्नु परेको छ ।


मैनामोती चौधरी