कारागारका थुनुवाद्वारा मुद्दा छिटो फैसला गर्न माग

दाङका कारागारमा रहेका कैदीबन्दीहरूले छिटो मुद्दा फैसला गर्न सरोकारवालासँग माग गरेका छन् । मङ्सिर ३ गते घोराही र तुलसीपुर कारागार अनुगमनमा पुगेका महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधि मण्डलसँग कैदीबन्दीले यस्तो माग गरेका हुन् ।

कारागारमा रहेका कैदीबन्दीको अवस्था र उनीहरूमा कानुनी अड्चनबारे बुझन पुगेको सहन्यायाधिवक्ताहरू गिताप्रसाद तिम्सिना, खेमराज ज्ञवाली तथा महान्याधिवक्ता कार्यालयका अधिकृत श्रीराम खनाल, जिल्ला बार एशोसिएशन, उच्च अदालत बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ तथा अधिकारकर्मीहरूको टोलीसँग उनीहरूले मुद्दा फैसलामा ढिलाइ हुँदा समस्या भोग्नु परेको गुनासो गरेका हुन् ।

सो अवसरमा कैदीबन्दीहरूले सरकारी दैनिक राशन खर्चवापत दिने दैनिक ४५ रुपियाँ विगत ८ वर्षदेखि नबढेको भन्दै राशन भत्ता बढाउन मागसमेत गरे ।

आफूहरूलाई सीपमूलक तालिम दिइनुपर्ने, कारागारभित्र स्थानीय पत्रपत्रिका, पुस्तकको व्यवस्था गरिनुपर्ने घोराही कारागारका भाइ नाइके डिपलवसेन वलीले माग गरे ।

टोलीले तुलसीपुर कारागार र घोराही कारागारको अनुगमन गर्दा न्यूनतम आवश्यकताप्रति ध्यान नदिएको पाइएको टोली संयोजक सहन्यायाधिवक्ता गिताप्रसाद तिम्सिनाले बताए ।

दाङको तुलसीपुर कारागारमा हाल १ सय ८६ जना र घोराही कारागारमा २ सय जना कैदीबन्दी रहेको घोराहीका जेलर निमानन्द रिजालले जानकारी दिए ।