कारागारका कैदीबन्दीमा उच्च रक्तचाप र मधुमेहको समस्या बढी

  ०८१ असार २८ गते

पर्वत कारागारमा रहेका कैदी बन्दीहरूमा उच्च रक्तचाप सहित मधुमेहको जोखिम बढेको पाइएको छ ।

स्वास्थ्य कार्यालय पर्वतले पर्वत अस्पतालसँगको सहकार्यमा कारागारमा रहेका कैदी बन्दीहरूको असार २६ गते गरेको स्वास्थ्य परीक्षण पछिको रिपोर्ट मा २५ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको छ भने ३८ प्रतिशत मधुमेहको जोखिममा रहेको उल्लेख छ ।

कारागारमा रहेका ९२ जना कैदी बन्दी तथा ११ जना कर्मचारीहरू गरी कुल १ सय ३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । ९२ जना कैदी बन्दीमध्ये ८९ जना पुरुष र तीन जना महिला रहेका छन् । जनस्वास्थ्य अधिकृत अञ्जली पि.सी.का अनुसार रक्तचापको परीक्षण गर्दा ६० जनामा सामान्य, २३ जनामा उच्च रक्तचाप र नौ जना उच्च रक्तचापको जोखिममा रहेको पाइएको छ । यो अनुसार हेर्दा २५ प्रतिशतमा उच्च रक्तचाप देखिएको हो । यस्तै ९० जनाको कोलेस्ट्रोल सामान्य हुँदा दुई जनामा भने उच्च देखिएको छ ।

मधुमेहको जाँच गर्दा चार प्रतिशत भन्दा धेरैमा मधुमेहको समस्या र ३८ प्रतिशत मधुमेहको जोखिममा रहेको देखिएको छ । जस अनुसार ५३ जनाको अवस्था सामान्य, ३५ जना मधुमेहको जोखिममा रहेका छन् । यस्तै ‘सिरम क्रिएटिनिन’ को परीक्षणमा ९० जनाको अवस्था सामान्य र एक जना जोखिममा रहेको परीक्षणको क्रममा देखिएको छ ।

शरीर पिण्ड सूचकाङ्क (बीएमआइ) परीक्षणको क्रममा तीन जनाको कम तौल, ५१ जनाको सामान्य तौल, ३५ जनाको उच्च तौल र तीन जनामा मोटोपनको समस्या देखिएको जनस्वास्थ्य अधिकृत पि.सी.ले बताउनुभयो ।

पिसाब ‘प्रोटिन’ जाँच गर्दा ९० जनाको अवस्था सामान्य र दुई जना जोखिममा रहेको पाइएको छ । एचआइभी परीक्षण गर्दा कोहीमा पनि एचआइभी देखिएको छैन । स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार पर्वत अस्पतालका चिकित्सक, ‘ल्याब’ स्वास्थ्यकर्मी, ‘प्यारामेडिक’, ‘नर्स’ सहित स्वास्थ्य कार्यालयको समूह मिलेर कैदीबन्दीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

बेला बेलामा कारागारमा रहेका व्यक्तिहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूको स्वास्थ्य अवस्था र आउन सक्ने जोखिमको बारेमा थाहा हुने भएकोले कार्यालय स्वास्थ्य परीक्षण गरेको शर्माले बताउनुभयो ।

photo081328parbat


सन्तोष थापा