कारगारमा क्षमता भन्दा चार दोब्बर कैदीबन्दीका कारण समस्या

२५ जना पुरूष र १० जना महिलाको क्षमता रहेको जिल्ला कारागारमा ९५ जना कैदीबन्दी राखिएपछि समस्या भएको कैदीबन्दीले गुनासो गरेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी स्वास्थ्य उपचारलगायतमा समस्या हुने गरेको चौकीदार जितेन्द्र कार्कीले बताए ।

जिल्ला कारगारमा अहिले ८१ जना कैदी र १३ जना थुनुवा तथा ६ जना महिला र एक जना नाबालक गरी जम्मा ९५ जना कैदीबन्दी रहेको जिल्ला कारागार तेह्रथुमका जेलर उमेश घिमिरेले बताए । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न कारागार प्रशासनलाई समस्या भइरहेको जेलर घिमिरेले बताए ।

कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई विद्यमान समस्याबारे पटकपटक जानकारी गराउँदै आएको छ ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि राशन, स्वास्थ्य उपचार, विद्युत र पानीकोसमेत समस्या भइरहेको चौकिदार कार्की बताउँछन् । क्षमताभन्दा बढी कैदीबन्दी राखिएकोले पानी पिउन र नुहाउन समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ ।


भगिश्वर लिम्बु