काम एउटै ज्याला फरक, महिला मजदुरलाई सधै विभेद
भक्तपुरको सूर्यविनायक–८ मानेभञ्याङ्की माइली तामाङ् दिन भरी काम गर्दा रु. ७ सय ५० ज्याला पाउनु हुन्छ ।
स्थानीय कृषि फार्ममा काम गर्ने उहाँलाई त्यहाँ सुरुमा दैनिक रु. ७ सय ज्याला दिने गरेकोमा एक वर्षदेखि भने रु. ७ सय ५० पाउँदै आउनु भएको छ ।
कृषि फार्ममा दैनिक काम हुँदैन । बोलाएको बेलामा जाने हो । त्यही कृषि फार्ममा काम गर्न जाने सन्तराम वाइवा भने दैनिक रु. १ हजार ज्याला पाउनु हुन्छ ।
तामाङ्ले भनिन्–“खै काम त बराबर गर्छम् तर कृषि फार्मले मलाई महिला भएकै कारण पुरुषले भन्दा कम ज्याला दिन्छ, सन्तरामले रु. १ हजार पाउँछन्, मैले रु. ७ सय ५० मात्रै पाउछु ।”
आफूलाई मात्रै किन थोरै ज्याला भनेर उनले आवाज भने उठाउनु भएको छैन । सँधै महिलालाई पुरुषको भन्दा कम ज्याला दिने भएकाले नसोधेको उहाँ बताउनु हुन्छ ।
तामाङ् भन्नु हुन्छ, “अहिले मात्रै हो र ? सधै पुरुषलाई भन्दा कम ज्याला दिँदै आका छन् नी, मागेर दिने भापो, ज्याला थोरै भो साहुजी भने, तिमी नआउन त अरुलाई बोलाम्ला भन्छन्, अनि के गर्नु ।”
कामै नपाउनु भन्दा त कम ज्याला मै भए पनि काम गर्नु बाध्यता छ महिलाहरूको । एउटा मात्रै होइन, हरेक पेशामा महिलाले गर्ने कामको ज्यालामा विभेद छ ।
काभ्रे भकुण्डेबेसीकी अञ्जना परियार र उनका पति कान्छा परियार घर ढलानको काम गर्दै आएको चार वर्ष भयो ।
विगत ६ वर्षदेखि भक्तपुर नगरपालिकाको व्यासीमा भाडामा बस्दै आएका उहाँहरूले विगत चार वर्षदेखि घर निर्माणको ढलानमा ठेकेदारसँग कामगर्दै आउनु भएको छ ।
अधिकांश दिन उहाँहरू ढलान कै काममा जाने गर्नु हुन्छ । ठूला–ठूला भवनमा ठेकेदारले बिहान चारैबजे निस्कन उर्दीं जारी गर्छन् । टाढा भए मिनिट्रक लिन पनि आइपुग्छ ।
बिहान ६ बजेदेखि साइटमा काम गर्दा कहिले त फर्कदा राती नौ बज्ने बताउनु हुन्छ अञ्जना । रातीसम्म काम गरे दिनको १ हजार, ढलान चाडै सकिए दिनको रु. ८ सय ज्याला पाउने गरेको उहाँ बताउनु हुन्छ ।
उहाँसँगै काम गर्ने उहाँका पतिले भने रु. १ हाजार २ सय र रातीसम्म काम गर्नु पर्दा रु. १ हजार ४ सयसम्म ज्याला पाउने गर्नु भएको छ । एउटै काम, उही समय तर ज्यालामा भने विभेद छ, पतिको धेरै आउँछ, पत्निको थोरै ।
पुरुषले भन्दा महिलाले बढी काम गर्नु पर्ने उहाँ बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ– ‘भारी बोक्ने काम जति महिलाको हुन्छ, भारी बोक्ने, मसला घोल्ने सबै काम हामीले नै गर्ने हो, पुरुषभन्दा बढी काम हामी नै गर्छौ तर ज्याला भने हामीले कम पाउँछौ ।’
घर बनाउने काममा पनि उस्तै विभेद छ । घर बनाउने डकर्मीले दैनिक रु. २ हजार ज्याला पाउँछन् तर डकर्मीका लागि तलदेखि माथिसम्म इँटा बोक्ने, बालुवा बोक्ने, घोल्ने महिलालाई भने दैनिक रु. ८ सय दिने गरेका छन् ।
भक्तपुरको सूर्यविनायकमा घर बनाउने ठेक्कामा कामगर्दै आएका ठेकेदार पवन कार्की परम्परादेखि नै महिलालाई ज्यालामा विभेद हुँदै आएको स्वीकार गर्नु हुन्छ ।
महिलालाई बराबर ज्याला दिन खोजे पुरुषले नमान्ने गरेको बताउँदै कार्की भन्नु हुन्छ “काम भने पुरुषको जति नै महिलाले पनि गर्ने गरेको छन्” ।
गाउँ घरमा हुने मेलापातको पनि ज्यालामा विभेद नै गरेको पाइन्छ । धान रोप्नु परे होस वा काट्न, आलु रोप्न परे होस वा खन्न । जुनसुकै काममा पनि ज्यालामा वर्षौदेखि विभेद हुदै आएको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथलीकी सपना कार्की गाउँ घरको कृषि कर्ममा महिलाको दैनिक रु. ७ सय र पुरुषलाई दैनिक रु. १ हजार ज्याला पाउने गरेको बताउनु हुन्छ ।
पहिलादेखि नै यस्तै परम्परा बसेकाले अहिलेसम्म पनि यो परम्परा नहटेको बताउँदै उहँले पछिल्लो समयमा ज्याला बढे पनि विभेद भने नघटेको बताउनु भयो
यस्ता काममा मात्रै होइन शिक्षा दिने स्कूलमा समेत ज्यालामा विभेद हुने गरेको बताउँछन् शिक्षिकाहरू । एउटै कक्षामा पढाउने शिक्षक र शिक्षिकाको तलबमा भिन्नता हुने र विभेद हुने गरेको लामो समयदेखि शिक्षण पेशा गर्दै आउनु भएकी अञ्जना अधिकारी बताउनु हुन्छ ।
‘एउटै कक्षामा पठाउने शिक्षक र शिक्षिकाको पारिश्रमिक फरक छ, पुरुष शिक्षकलाई बढी र महिला शिक्षिकालाई कम हुन्छ,’ उहाँले भन्नुभयो, ‘ज्यालाका रुपमा विभिन्न सकुलमा गएर दैनिक दुई–तीन पिरियड पढाउने शिक्षक र शिक्षिकालाई दिने पारिश्रमिकमा पनि विभेद छ ।’
शिक्षकले एउटा कक्षा लिएको रु. ३ सय र शिक्षिकाले सोही विषयमा एउटा कक्षा लिएको रु. २ सय दिने गरेको बताउदै शिक्षण पेसामा पनि ज्यालामा विभेद रहेको उहाँको गुनासो छ ।
यि समस्या त उदाहरण मात्रै हुन् । हरेक पेशामा काम गर्ने महिलाको ज्यालामा विभेद हुदै आएको छ । महिला र पुरुषको काम एउटै भए पनि ज्यालामा हुने विभेद हटाउन नसकिएको जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सरिता कुँवरले बताउनुभयो ।
यो वर्षौदेखि झेल्दै आएको समस्या भए पनि यस्तो विभेदलाई हटाउन नसकिएको बताउदै जिल्ला समन्वय समितिले यसको पहल भने गरिरहेको कुँवरले बताउनु भयो ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले मानिसको सोचाइमा परिवर्तन नआएसम्म ज्याला मात्रै होइन कुनै पनि विभेद हटाउन मुस्किल पर्ने गरेको बताउनुहुन्छ ।
ज्यालाको विभेद हटाउन अधिकांश कार्यक्रममा बोल्ने गरेको, जिम्मेवार निकायलाई भन्ने गरेको बताउदै उहाँले यो संघर्षलाई पार लाएर समान काममा समान ज्याला बनाउन अझै समय लाग्ने बताउनुहुन्छ ।
रमेश गिरी
सम्बन्धित समाचारहरू
जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार
जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ । रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर…
हत्या प्रयास गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला
त्रियुगा नगरपालिका-१२ पुरानो गाइघाटका आठ वर्षीय बालक आयन लिम्बूलाई कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा जिल्ला अदालतले त्रियुगा नगरपालिका-१२ सुनगाभाटोलका अधिवक्ता ५५ वर्षीय इन्द्रकुमार तामाङ्गलाई एक वर्ष कैद सजायको फैसला…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चौदण्डीगढी नगरपालिका–६ बेल्टारका १९ वर्षीय अजय राईलाई १० वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ…
हत्या घटनाका आरोपित गिरफ्तार
बाणगंगा नगरपालिका– ६ की १८ वर्षीया अन्जनी थारू र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला कञ्चन गाउँपालिका– २ का २२ वर्षीय मोहन थारूलाई जेठ १८ गते…
घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी
कौडेना गाउँपालिका–५ मोतिपुरकी २४ वर्षीया लिलम देवी महतोलाई जेठ १० गते पति २६ वर्षीय विनोद महतो र ससुरा ५२ वर्षीय जोगिन्द्र महतोले कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा पीडितले जिल्ला…