काभ्रेकी लक्ष्मीको 'मृत्यु' भएको घटनाका सम्बन्धमा स्थलगत अध्ययन (फोटो फिचर)
कथित बोक्सीको आरोपमा अभक्ष खुवाएर निर्घात कुटपिट गरिएकी सानो वाङ्थली-७ की ३३ वर्षीया लक्ष्मी परियारको मङ्सिर २४ गते मृत्यु भएको छ । उक्त घटनाका बारेमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग, इन्सेक, पत्रकारलगायत सहभागी छुट्टाछुट्टै टोलीले स्थलगत अध्ययन गरेका छन् । अध्ययनको प्रतिवेदनहरू सार्वजनिक गरिएको छैनन् । इन्सेक काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाले स्थलगत अध्ययनका क्रममा पाएका तथ्यहरूलाई यसरी प्रस्तुत गरेका छन् ।
सानो वाङ्थली गाविस-७ गोदामचौरको सुर्योदय माविको अगाडी ठूलो रुख छ । रुखमा चौतारो निर्माण समितिका संयोजक हिरा लामा तितुङको तस्वीर सहितको व्यानर छ । व्यानरको तल 'लैङ्गिक हिंसा अपराधको प्रकार, सबै मिली गरौँ त्यसको प्रतिकार' लेखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेको फ्लेक्स देखिन्छ । त्यसैको नजिक चौरमा भलिबल नेट टाँग्नका लागि गाडिएको खम्बा छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहेको अवस्थामा मङ्सिर २० गते ३२ वर्षीया लक्ष्मी परियारलाई नेट टाँग्नका लागि गाडिएको पोलमा बाँधेर त्यही विद्यालयका लेखापाल २५ वर्षीय हिरा लामा तितुङले मुख र गालामा अभक्ष दल्दै छातिमा लातले हानेको आरोप छ ।
बनेपाबाट ६७ किलोमिटरको दुरीमा रहेको लक्ष्मीको घरभन्दा ५ सय मिटरको दुरीमा रहेको रामबहादुर उप्रेतीको गोठमा मङ्सिर २४ गते लक्ष्मी परियार मृत अवस्थामा फेला परिन । बोक्सीको आरोपमा कुटपिट गरेका कारण उनको मृत्यु भएको भन्दै सञ्चार माध्यम र सामाजिक सञ्जालमा यो विषय भाइरल बन्यो ।
मृतक लक्ष्मीका भाइ लोकबहादुर परियारले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएपछि झन् यो विषयले महत्व पायो । मङ्सिर २० गते विद्यालय प्राङ्गणको पोलमा निरमाया तामाङले बाँध्नको लागि नाम्लो दिएको, हिरा तामाङले छातिमा लात र टाउकोमा चिर्पटले हानेको, हिराको आमा काइलीमाया तामाङले अभक्ष खुवाएको, भिनाजु मिलन परियारले घरको सामान बेचेर रक्सी खाने र कुट्ने गरेको मृतकका भाइले किटानी जाहेरी दिएपछि प्रहरीले चारै जनालाई गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ ।
मृतकका ३४ वर्षीय पति मिलन परियारको मिल्ने साथी हिरा लामालाई लक्ष्मीले 'तेरो आमा, छोरा नै फलानो-फलानोसँग पल्किएको' भनेर बात लगाएको भनी चोरीको बाइक चढेर देउरालीस्थित पसलबाट हिराले आमा काइलीमायालाई ल्याएर गाउँलेकै अगाडि उक्त व्यवहार गरेको पीडित पक्षको आरोप छ । मृतककी ६० वर्षीया सासू विष्णुमाया परियारले गाउँमा सबै एकमुख लाग्ने गरेको बताइन् । घटनाअघि छोरा-बुहारीसँगै निस्किएकोमा केही समयपछि नै गोठमा मृत्यु भएकाले कुटपिटका कारण नै बुहारीको मृत्यु भएको उनले बताइन् । कुट्नेहरूले नै प्रहरी कार्यालयमा गएर गलत रिपोर्ट दिएर धेरै वर्षपहिलेका उजुरी झिकेर जरिबाना तिर्न भनिएको बताइन ।
प्रहरी चौकी चौबासका अनुसार मृतक र मृतकको सासूले भिरकुनाकी राममाया तामाङको विवाहका लागि हतार गर्दै मिलापत्रका लागि अनुरोध गरेका थिए । बोक्सीको आरोप र अभक्ष दलेको कुरा छलफलमा नआएको कुरा असई प्रेमपुकार चौधरीले मङ्सिर २६ गते धुलिखेलमा भएको पत्रकार सम्मेलनमा बताए । मृतक परिवारका अनुसार बोक्सीको आरोप र अभक्ष दलेको कुरा लेखिएको कागज च्यातेर प्रहरीले 'यस्तो विषयमा छलफल गर्न मिल्दैन' भन्दै मृतक लक्ष्मीले भैँसीलाई काटेको भन्ने निवेदन तयार पारेर मिलापत्रको कागजमा ल्याप्चे गराएका थिए । मङ्सिर २१ गते प्रहरी कार्यालयमा निवेदन परेपछि मङ्सिर २३ गते चौबास प्रहरी चौकीका तीन जना प्रहरी घटनास्थलमा गएर मिलापत्र गराएर फर्किएका थिए ।
विद्यालयकी शिक्षिका टिकादेवी खरेलका अनुसार दुई वर्षअघि पत्नी विदेश गएपछि हिरा उदण्ड हुँदै आएको र उनी सूर्योदय मावि गोदामचौरका लेखापाल भएको बताइन् । अभक्ष ल्याएर खुवाएको भनिएको घरका धनी ३५ वर्षीय पूर्णबहादुर तामाङ र उनको २८ वर्षीया पत्नी फूलमाया तामाङले भने अभक्ष खुवाएको थाहा नभएको र कुटाकुट भएको मात्र आफूहरूले देखेको बताए । स्थानीय १९ वर्षीय विनोद विश्वकर्माले भने जहिले पनि कराउने, मुख छाड्दै हिड्ने र ४० वर्षीया माइली विश्वकर्मालाई कुटेका कारण अस्पताल खर्च तिर्न भनेर मिलापत्र गरिएको बताए । उनका अनुसार गाँउको छलफलमा ६ हजार तिर्न भनेका कारण त्यो पैसा लिनका लागि माइतीघर नाँग्रेगगर्चे गाविस-५ चन्खु जानेक्रममा लक्ष्मीको मृत्यु भएको थियो ।
नाँग्रेगगर्चे गाविस-५ घर भएकी २९ वर्षीया शान्ता परियार माइत आएको समयमा आफूले उक्त घटना देखेको बताउँछिन् । भाउजू लक्ष्मीलाई आफैँले छुट्याएर पठाएको र दाजू नाताका मिलन परियारले काठमाडौँ जान्छु भनेर चल्खुस्थित कुमार परियारको घरमा गएर बसेकोमा शङ्का रहेको बताइन् । मृतकका ६० वर्षीय बावु रत्नबहादुर परियारले भने ज्वाईँले छोरीलाई पटक-पटक कुटेका कारण माइतीमा आउने गरेको बताए । 'ज्वाईँ बेइमानी नै हो । ज्वाईँको पनि गल्ती छ ।'-उनले थपे । ३० वर्षीय भाइ लोकबहादुर परियारले भने आफूहरूलाई न्याय चाहिएको बताए ।
मृतकका १२ वर्षीय सागर, १० वर्षीय सुमन र २ वर्षीय सुशील गरी तीन छोरा रहेका छन् । कान्छो छोरा आमाको मृत्युपछि राति निदाउन सकेका छैनन् । रात परेपछि तीन जना बच्चा आफन्तहरूकोमा सुत्न जान्छन् । जेठो र माइलो छोरा भने आफ्नी आमालाई अभक्ष दलेको र कुटेको विषयमा धारा-प्रवाह जानकारी दिन्छन् । मृतकको घरमा खाद्यान्न अभावका कारण गाउँ बाल संरक्षण तथा सम्वर्द्धन उपसमितिको मङ्सिर २७ गते बसेको बैठकले एक बोरा चामल, दाल, नुन र तेल सहयोग गर्ने निर्णय गरेको छ । मृतकको लासलाई पोष्टमार्टमका लागि सोही दिन शिक्षण अस्पतालमा पठाइएको छ । साक्षी बसेका १५ जनासँग प्रहरीले बयान लिएपछि उनीहरू घर फर्किएका छन् ।
घटना अध्ययन-अनुसन्धानका लागि मङ्सिर २७ गते राष्ट्रिय मानव अधिकार आयोगबाट अधिकृत नितु गड्तौला, दीपकुमार यादव र मुक्तिराम सुवेदी सहितको टोली घटनास्थलमा पुगेको थियो । यसैगरी राष्ट्रिय दलित आयोगका सदस्य कोपिला विश्वकर्मा, मञ्जित ताम्राकार, रुपबहादुर परियार सहितको टोली पनि मङ्सिर २७ गते नै घटनास्थलमा पुगेको थियो । विभिन्न सञ्चार संस्था आबद्ध पत्रकार र मानव अधिकारकर्मीहरूले पनि घटनाको अध्ययन गरिरहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…