कापीकलम किन्न धानको सिला खोज्दै बालबालिका

'खाली धान खेत, दुई जना बालबालिका निहुरिएर हिँडिरहेका छन् । हातमा पराल जस्तो मुठो छ । त्यो पराल नभएर धानको बाला हो ।' उनीहरू हुन् मोहम्मदपुर गाविस-३ दुधालालपुरका ११ वर्षीया सवनम खाँ र नौ वर्षीया सावा खाँ । उनीहरू दैनिक आधा किलो देखि एक किलोसम्म धानको सिला जम्मा गर्ने गरेका बताउँछन् । हिजोआज यो काम उनीहरूको दीनचर्या बनेको छ । उनीहरूले यसरी नै दैनिक रूपमा धान काटेर बोकिसकेको खेतमा धानको सिला खोजी गर्ने गर्छन् । ती दिदीबहिनीका २३ वर्षीय आमा सतुल खाँ १० वर्षदेखि पतिले कुटपिट गरी घर निकाला गरेपछि माइतीमा बस्दै आएकी छन् । उनको विवाह भारतको बहराइज जिल्लामा भएको थियो । विवाह गरेको दुई वर्षपुग्दा नपुग्दै अर्को विवाह गरी मानसिक र शारीरिक रूपमा यातना दिएपछि बाध्य भएर माइतीघरमा आएको पीडित महिलाले बताइन् ।

माइतीघरबाट पुनः घर गएकी पीडित महिलालाई मरणासन्न हुने गरी कुटपिट गर्नुको साथै तीन पटकसम्म तलाक भनेर सम्बन्ध विच्छेद गरेको घोषणा गरेर कागजमा जरजस्ती सहीछाप गराएपछि उनी माइतीघरमा बस्दै आएकी हुन् । माइतिघरको आर्थिक अवस्था कमजोर भएका कारण पीडित महिला ज्याला मजदुरी गर्दै आएकी छन् । छोरीहरूले भने आमाको दुःख बुझेर कापीकलम किन्न सजिलो होस् भनेर सिला खोजेको बताए । उनीहरूको जन्म दर्ता अहिलेसम्म गर्न नसकेको सतुल खाँले बताइन् । 'दुवै छोरी गाउँमै रहेको मदरासामा पढ्न जाने गरेका छन् । घरमा बस्दा त लगाउन गतिलो लुगा छैन । स्कूल जाने ड्रेस छैन । कापी कलम किन्न पैसा छैन । त्यही भएर सिलोबालो खोज्छन् ।'-खाँले भनिन् ।

photo20161024bardiya photo20161024bardiya1 photo20161024bardiya2 photo20161024bardiya3


मानबहादुर चौधरी