कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार आयोगले २०७४ असार २९ गते कान्तिपुर दैनिकमा प्रकाशित 'शक्ति प्रदर्शनको होडबाजीले हिंसा' शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार आयोगद्वारा सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित २०७३ साल चैत्र ३१ गते राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ८ (१) बमोजिम सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री ताहिर अलि अन्सारीको संयोजकत्वमा फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहित आयोगका अधिकृतहरू सम्मिलित एक उच्चस्तरीय अनुसन्धान टोलीको गठन गरेको थियो । सो टोलीले २०७४ जेठ २९ गते अनुसन्धान प्रतिवेदन का.वा. अध्यक्ष माननीय प्रकाश वस्तीलाई बुझाएको र निर्णय पूर्व कानुन बमोजिम पुर्‍याउनु पर्ने प्रक्रिया पूरा गर्ने क्रममा घटनाको उजुरी आयोगमा विचाराधीन अवस्थामै रहेको आयोगले जनाएको छ ।

मानव अधिकार आयोगले साउन १ गते प्रकाशन गरेको विज्ञप्तिमा उक्त प्रतिवेदन हालसम्म आयोगको बैठकमा छलफलका लागि पेश नगरिएको तथा पेश भएपछि छलफल भई निर्णय समेत हुन बाँकी रहेको जनाएको छ । विज्ञप्तिमा आयोगको निर्णय हुनुपूर्व नै आयोगको निर्णय नै भएको जस्तो भ्रम पर्ने गरी प्रकाशित समाचारप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दछ भनिएको छ । मानव अधिकारको अनुसन्धान कार्य गम्भीर विषय हुने र सोको दूरगामी असर समेत पर्ने भएकोले यस्तो प्रकृतिको समाचार प्रकाशन गर्दा आयोगको प्रतिक्रिया लिई जिम्मेवारीपूर्वक प्रकाशन गर्नको लागि समेत आमसञ्चार माध्यमलाई आयोगले आग्रह गरेको छ ।


अनलाइन डेस्क