कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

  ०७९ माघ १३ गते

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ ।

जाजरकोट जिल्लाको छेडागाड नगरपालिका–८ घरभई हाल भेरी नगरपालिका–३ सिमलगैरीमा बस्दै आउनुभएकी शान्ता परियारलाई इन्सेकले माघ १२ गते सात हजार रुपियाँ सहयोग गरेको हो ।

यसैगरी सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–६ घरभई हाल वीरेन्द्रनगर नगरपालिका–४ मा बस्दै आउनु भएकी सरस्वती बोहोरालाई इन्सेकले माघ ११ गते सात हजार रुपियाँ सहयोग गरेको थियो ।

बराहताल गाउँपालिका–६ मा बस्दै आउनु भएकी बोहोरा शारीरिक अपाङ्ग हुनुहुन्छ । शारीरिक अपाङ्गता भएकै कारण पति शेरबहादुर पुनले पटक पटक कुटपिट गर्ने तथा गाली गर्दै आउनु भएको पीडित बोहोराको गुनासो छ । मदिरा सेवन गरी मार्ने धम्कीसमेत दिदै आएपछि पीडित हाल माइतीको घरमा बस्दै आउनुभएको छ ।

जाजरकोट जिल्लाको भेरी नगरपालिका–३ मा बस्दै आउनुभएकी परियारलाई गार्मेन्ट उद्योग संचालन गर्दै आएका पतिले पछिल्लो समय व्यवसायमा घाटा लागेपछि अमरबहादुर दमाइले पछिल्लो समय मदिरा सेवन गरी पटक पटक कुटपिट गर्ने गरेको पीडितको गुनासो छ ।
पीडित शान्ताले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत जाजरकोटमा ०७९ असार ५ गते उजुरी दिनुभएको थियो भने बोहोराले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत सुर्खेतमा ०७९ पुस ४ गते उजुरी दिनुभएको छ । अदालतमा मुद्दा दिएपछि आर्थिक अवस्था कमजोर रहेका दुबै पीडितले अदालती प्रकृयामा नियमित फलोअप गर्न जान नसकेको भन्दै मानव अधिकार सहायता कक्षमा सहयोगका लागि निवेदन दिएपछि मानव अधिकार सहायता कक्षको माघ ६ गते बसेको बैठकले दुबै पीडितलाई सात/सात हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनु भएको छ ।

पीडित दुवैजनाले आर्थिक सहयोगको मागगर्दै ०७९ कात्तिक २९ गते र माघ ६ गते इन्सेकले गठन गरेको मानव अधिकार सहायता कक्षमा निवेदन दिनुभएको थियो ।

पीडितलाई न्याय प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको परियोजना संयोजक किरण पौडेलले जानकारी दिनु भएको छ ।

Photosurkhet20230127 (1) Photosurkhet20230127 (2) Photosurkhet20230127 (3)


प्रभाकुमारी रावत