कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

  ०८१ असार १ गते

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ पानीखोला घर भइ हाल वीरेन्द्रनगर नगरपालिका– ३ तातापानी दिदीको घरमाबस्दै आएकी २८ वर्षीया लक्ष्मीकुमारी बस्नेतलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि जेठ ३२ गते आर्थिक सहयोग गरेको छ ।

पीडितका पति ३२ वर्षीय पति रेशम पौडेल र सासुले कुटपिट गरेर घर निकाला गरेको पीडित महिलाले जानकारी दिनुभयो । पतिले हेरविचार नगर्ने भएका कारण जिल्ला अदालत सुर्खेतमा घरेलु हिंसा र अंश सहित खाना खर्च मुद्दा दायर मुद्दा दायर भएकोले अदालत आवतजावतमा समस्या भएको उहाँले बताउनु भयो ।

मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा वैशाख ३१ गते निवेदन दिनुभएको थियो ।

पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको  जेठ ३१ गते बसेको बैठकको निर्णय अनुसार नगद आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

Photo20240615Surkhet


जगतदल जनाला विक