कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

  ०८० फागुन १ गते

आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी जाजरकोट स्थायी घर भइ हाल वीरेन्द्रनगरमा बस्दै आएकी २६ वर्षीया एक महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि फागुन १ गते आर्थिक सहयोग गरेको छ ।

पीडित बालिकाले आफूलाई सर्वोच्च अदालतमा कार्यरत २४ वर्षीय प्रहरी जवान भूपेन्द्र सि‍ह ठागुन्नाले आफूलाई बलात्कार गरेको भन्दै ०८० मङ्सिर ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । थप कानुनी प्रकृयामा जानका लागि  आवतजावत गर्न र कानुनी शुल्कमा समस्यामा परेको पीडितले बताउनुभयो । मुद्दाको लागि अदालतमा आवतजावत गर्दा आर्थिक समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा माघ ९ गते निवेदन दिनुभएको थियो ।

निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको माघ  २५ गते बसेको बैठकको निर्णय अनुसार नगद पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रक्रियामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शिर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

०८० वैशाख १ गते आरोपितले आफूलाई  सुर्खेत आएर  १५ दिनसम्म  वैवाहिक आश्वासनमा जबरजस्ती करणी गरेको  र गत वर्षको मङ्सिर १५ गते सुर्खेतबाट विवाह गर्छु भन्दै  काठमाडौं भेट्न बोलाएर फेरी करणी गरेको पीडितको आरोप छ ।

जिल्ला अदालत सुर्खेतमा मङ्सिर २५ गते थुनछेक बहस हुँदा आफूसँग भएका प्रमाणहरू ९म्यासेज, अडियो रेकर्ड, फोटोहरू० सरकारी वकिललाई दिएपनि अदालतले प्रमाण नपुग्ने भन्दै आरोपितलाई दुई लाख ५० हजार रुपियाँ धरौटीमा छोड्न आदेश दिएको थियो । त्यसपछि पीडितले न्यायाधीशकै अगाडि  तरकारीमा प्रयोग गर्ने विष सेवन गरेर आत्मदाहको प्रयास गर्नुभएको थियो । महिलालाई प्रहरीले तत्कालै कर्णाली प्रदेश अस्पतालमा भर्ना गरेको थियो । पाँच दिनपछि पीडित महिला डिस्चार्ज हुनुभएको थियो ।

 


जगतदल जनाला विक