काथित बोक्सोको आरोपमा हत्या गरिएका मृतकका परिवारलाई सरकारद्वारा ५ लाख रुपियाँ राहत प्रदान

तीन वर्षअघि काथित बोक्सोको आरोपमा जिउँदै जलाएर हत्या गरिएका नौकुण्ड गाउँपालिका–६ घोर्मुका तुलुसार्की थिङका परिवारलाई सरकारले ५ लाख रुपियाँ राहत प्रदान गरेको छ ।

जिल्ला अदालतको ०७५ जेठ २२ गतेको फैसला अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त ५ लाख रुपियाँको चेक पीडित परिवारलाई सहायक प्रमुख जिल्ला अधिकारीे देवर्षि सापकोटाले जेठ १३ गते हस्तान्तरण गरेका हुन् ।

photo20190528rasuwa

जिल्ला प्रशासन कार्यालयले अधिकारकर्मीहरूको उपस्थितिमा मृतककी ५५ वर्षीया पत्नी योयाल्मो थिङलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

साविकको यार्सा गाउँविकास समिति–९ हाल नौकुण्ड गाउँपालिका–६ घोर्मु गाउँमा ०७३ वैशाख ४ गते ५६ वर्षीय तुलुसार्की थिङलाई कथित बोक्सोको आरोपमा घर नजिकै जिउँदै जलाएर खाल्टोमा पुरेर हत्या भएको थियो ।

घटनापछि तत्कालै वास्तविकता सार्वजनिक गरी दोषीलाई कानुनी कारवाही गर्न इन्सेक लगायतका मानव अधिकार संस्थाहरूले घटनाको स्थलतगत अध्ययन प्रतिवेदन सार्वजनिक समेत गरी सम्बन्धित निकाय समक्ष ध्यानाकर्षण गरेका थिए ।


हेमनाथ खतिवडा