काठमाडौँका दुई विद्यालयमा बम विष्फोट

काठमाडौँका दुई विद्यालयमा असोज ४ गते बिहान बम विस्फोट भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

बौद्धस्थित आकशद्विप बोर्डिङ स्कूल र मनकामना उच्च माविमा सिलिण्डर बम विस्फोट भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी प्रद्युम्न कार्कीले बताए । विस्फाटबाट कुनै मानवीय क्षति नभएको उनले जानकारी दिए । बम विस्फोटको कारण आकाशद्विप स्कूलको गेटमा क्षति पुगेको उनले बताए ।

विस्फोट भएको ठाउँमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ्ग कम्युनिष्ट फोर्सको पर्चा भेटिएको एसपी कार्कीले बताए । उनका अनुसार विस्फोटमा संलग्न भएको आरोपमा दुई जनालाई गिरफ्तार गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

त्यसैगरी काठमाडौँकै बौद्धमा अवस्थित राई स्कूल, इष्टपोल स्कूल, डल्लुस्थित कञ्चनजङ्घा स्कूललगायत सात ओटा विद्यालयमा शङ्कास्पद वस्तु फेला परेको एसपी कार्कीले जानकारी दिए । शङ्कास्पद बस्तुको अनुसन्धान र बम डिस्पोजल टोली बम निष्कृय पार्नका लागि खटिएको उनले बताए ।

विस्फोट स्थलमा भेटिएको पचामा नीजि विद्यालयहरूले आफ्ना मागहरूको सम्बोधन नगरेको उल्लेख छ । पर्चामा वार्षिक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई नीजि विद्यालयमा निःशुल्क पढाउन, नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउन, विद्यालयले तोकेको स्थानबाट मात्र पोशाक, पुस्तकलगायतका सामग्री ल्याउनुपर्ने अवस्थाको अन्त्य गनुपर्ने लगायतका नौ बुँदे माग गरिएको छ ।

त्यसैगरी इन्सेक ललितपुर जिल्ला प्रतिनिधि रामकुमारी श्रेष्ठका अनुसार असोज ४ गते बिहान सानेपा स्थित रेडिएन्ट रिर्डस एकेडेमीमा बम फेला परेको छ । उक्त बम तत्कालै डिस्पोज गरिएको पनि प्रहरीले जनाएको छ ।

घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ्ग कम्युनिष्ट फोर्स नेपाल केन्द्रीय समितिको नामको पर्चा समेत फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिएका छन् ।


विवेक ढुङ्गाना